दुर्व्यसनमुक्त पालिका बनाउने अभियान तीव्र बनाउँदै चुलाचुली गाउँपालिका (तस्बिरहरु)

इलाम : चुलाचुली गाउँपालिकाले पालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित सुरु गरेको लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान अभियान तीव्र बनाएको छ । अभियानमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ आफैं खटिरहेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा सुरु गरेको अभियान तीव्र बनाएको हो ।  चुलाचुली गाउँपालिका वडा नं. ३ बाट सुरु गरेको अभियान अहिले वडा नं. २ र ४ मा समेत तीव्र बनाएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।

घरदैलोको क्रममा सोमाबार वडा नं. २ का विभिन्न क्षेत्रबाट ठूलो परिणाममा गाँजा बरामद गरेको छ । सो वडामा एक सय भन्दा बढी दुर्व्यसनी रहेको अनुमानका साथ अभियान तीव्र बनाएको हो ।

बाँकी वडा नं. १, ५ र ६ मा समेत चाँडै अभियान सुरु गरिने अध्यक्ष केरुङले बताए ।

चुलाचुली गाउँपालिकाले सरोकारवालासँग अन्तक्र्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तक्र्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

लागुपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगन गरी यसविरुद्ध विशेष अभियान सञ्चालन गरिएको अध्यक्ष केरुङले बताए । लागु औषधको प्रयोगले मानिसको शारीरिक, मानसिक र पारिवारिक तथा सामाजिक रुपमा विभिन्न असर पर्ने गर्दछ ।

पछिल्लो समय युवाहरुमा लागूपदार्थ दुर्व्यसनको अवस्था बढिरहेको हरेक दिनजसो लागु पदार्थसहित युवाहरु पक्राउ पर्ने क्रमले पुष्टि गर्दछ । खुला सीमाका कारण भारतीय बजारबाट लागुपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्ने बढेका प्रहरीले जनाएको छ ।

नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा एक लाख ३० हजार चार स २४ जना लागूऔषध प्रयोगकर्ता रहेको देखिन्छ । उनीहरु १५ देखि ५० वर्ष उमेरसमूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता थिए । २०७६ को सर्वेक्षण प्रतिवेदन अनुसार लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदन अनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागूऔषधको दुरुपयोग गरिरहेका छन् । तीन करोड ९५ लाख मानिसले लागूऔषध सेवानबाट विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् ।

दुर्व्यसनमा लागेकाहरुलाई सुधार्न नेपालका विभिन्न स्थानमा दुई सय ४० वटा पुन:स्थापना केन्द्र सञ्चालित छन् । पुन:स्थापना केन्द्रमा बसेर धेरैजसो मानिसहरु समाजमा पन:र्स्थापित समेत भएका छन् ।

तस्बिरहरु :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार