दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली गाउँपालिका (भिडियोसहित)

इलामको चुलाचुली गाउँपालिकाको विद्यालयमा आयोजित लागु पदार्थ विरुद्ध सचेतनामूलक कार्यक्रमका सहभागी विद्यार्थी ।

फिक्कल (इलाम) : नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिकाले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।

प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तक्र्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तक्र्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।

लागुपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगन गरी यसविरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताए । “पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरूका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुव्र्यसनबाट अलग गराई समाजमा पुनःस्थापनाको प्रयास भएको छ, “उहाँहरू समाजमा पुनःस्थापित हुन तयार हुनुहुन्छ, पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापना गरिनेछ”, अध्यक्ष केरुङले भने ।

वडा नं ३ बाट सुरु गरिएको अभियानलाई सबै वडाको टोलटोलमा पुर्‍याइने उनले बताए । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरूको प्रदर्शनी, लागुपदार्थ र लागुऔषधले गर्ने हानीबारे जानकारी दिइने बताए ।

‘चुलाचुलीमा दुर्व्यसनीको सङ्ख्या कति छ, भन्ने यकिन तथ्याङ्क नभएपनि पछिल्लो समय लागु औषध प्रयोगको अवस्था बढ्दै गएको जनगुनासो आउन थालेकाले अभियान सञ्चालन गरिएको हो,’ अध्यक्ष केरुङले भने, ‘यो अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक छ, त्यसैले यो अभियानमा हातेमालो गर्न सबैसँग अपिल गर्दछु ।’

बेलैमा सबैले अग्रसरता लिइ यसलाई रोकथाम नगर्ने हो भने भयावह अवस्था आउने उनले बताए । लागु औषधको प्रयोगले मानिसको शारीरिक, मानसिक र पारिवारिक तथा सामाजिक रुपमा विभिन्न असर पर्ने गर्दछ ।

पछिल्लो समय युवाहरुमा लागूपदार्थ दुर्व्यसनको अवस्था बढिरहेको हरेक दिनजसो लागु पदार्थसहित युवाहरु पक्राउ पर्ने क्रमले पुष्टि गर्दछ । खुला सीमाका कारण भारतीय बजारबाट लागुपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्ने बढेका प्रहरीले जनाएको छ ।

नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा एक लाख ३० हजार चार स २४ जना लागूऔषध प्रयोगकर्ता रहेको देखिन्छ । उनीहरु १५ देखि ५० वर्ष उमेरसमूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता थिए । २०७६ को सर्वेक्षण प्रतिवेदन अनुसार लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदन अनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागूऔषधको दुरुपयोग गरिरहेका छन् । तीन करोड ९५ लाख मानिसले लागूऔषध सेवानबाट विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् ।

दुर्व्यसनमा लागेकाहरुलाई सुधार्न नेपालका विभिन्न स्थानमा दुई सय ४० वटा पुन:स्थापना केन्द्र सञ्चालित छन् । पुन:स्थापना केन्द्रमा बसेर धेरैजसो मानिसहरु समाजमा पन:र्स्थापित समेत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार