विद्यालय जाँदै गर्दा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

खोटाङ : रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिराले पुरिएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो ।

विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिरोले पुरिएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्ने क्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । ‘घटना भएको ठाउँमा निरन्तर पहिरो झरिरहन्थ्यो, उहाँ (शिक्षिका सावित्रादेवी नेवार) त्यही सडक भएर विद्यालय आवतजावत गर्नुहुन्थ्यो’, उनले भने ।

‘आज उहाँ विद्यालय जाँदै गर्दा सडकमाथिबाट झरेको पहिरोले पुरिनुभएको रहेछ’, उनले भने, ‘घटना भए लगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटाइयो । तर, उहाँलाई जीवितै उद्धार गर्ने प्रयास सफ भएन । डेढ घण्टापछि पहिरो पन्छाएर उहाँको मृत शरीर फेला पार्यौँ ।’

पहिरोमा शिक्षिका सावित्रादेवी भन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिराले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिए ।

विद्यालय जाँदै गरेकी शिक्षिका सावित्रादेवीको पहिरोले परिएर मृत्यु भएपछि पठनपाठन अवरुद्ध भएको छ । पहिरोले पुरिएर ज्यान गुमाएकी शिक्षिका सावित्रादेवीको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

विसं २०५७ देखि त्यस विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकास हुने तयारीमा थिइन् । एक छोराकी आमा शिक्षिका सावित्रादेवी आफ्नै घरमा नातिनीसँग बसेर उक्त विद्यालयमा शिक्षण गर्दै आएकी थिइन् ।

लाडीडाँडाका अकलबहादुर मगरसँग प्रेम विवाह गरेकी शिक्षिका सावित्रादेवीको छोरा रविन मगर चार महिनाअघि शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नाम निकालेर शिक्षण पेसामै आबद्ध छन् । शिक्षिका सावित्रादेवीको श्रीमान् अकलबहादुरको भने निजामती सेवाअन्तर्गत नायब सुब्बा पदबाट अनिवार्य अवकाश भएको केही वर्षपछि क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।– रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार