पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडामा रहेको फाक्तेप आयुर्वेदिक औषधालयलाई लाखौं रुपैयाका सामाग्री हस्तान्तरण गरिएको छ । यस कार्यालयका पूर्वकर्मचारी स्व. मदन भट्टराईको सातौं स्मृति दिवशमा परिवारका सदस्य मार्फत दुई लाख रुपैंया भन्दा बढी रकम पर्ने एउटा ट्रेडमिल जिटी थ्री मेशिन हस्तान्तरण गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई फिटनेश एक्टिभिटिजमा सहयोग पुर्याउने उदेश्यले स्व. भट्टराईका सुपुत्र राजेन्द्र र बुहारी गीता भट्टराई साथै छोरी मुना र ज्वाईं पारसमणि न्यौपानेले उक्त मेशिन तथा अन्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
आइतबार औषधालयद्वारा आयोजित एक कार्यक्रममा जग्गादाता,पूर्वकर्मचारी,समाजसेवी,महिला स्वयं सेविकालगायतलाई पनि सम्मानपत्र,दोसल्लासहित सम्मान र मायाको चिनो प्रदान गरिएको छ । आयुर्वेद महिला स्वयं सेविका र कार्यरत कर्मचारीलाई ट्राकसुट प्रदान गरिएको औषधालयका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए । स्व. कर्मचारीको स्मृतिमा उनको सम्झना गर्दै पालिका आयुर्वेद शाखा प्रमुख राजु पराजुलीले भट्टराई जीवनी प्रष्ट्याएका थिए । यसैक्रममा उनका अग्रजसमेत रहेका घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण सम्बाहाम्फे,समाजसेवी जितेन चेम्जोङ,निवर्तमान महिला वडासदस्य चन्द्र कुमारी आङ्देम्बेलगायतले मन्तव्य राख्दै उनको स्वर्गबासको कामना र सत्कर्मको प्रशंसा गरे ।
औषधालय सहयोग समितिका अध्यक्ष समेत रहेका ५ नम्बर वडाका अध्यक्ष बिष्णुकुमार चेम्जोङको अध्यक्षतामा पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत निर्मल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा जनप्रतिनिधी,समाजसेवी, स्थानीयबासीलगायतको उपस्थिति थियो । स्व.भट्टराईले औषधालयमा काम गर्दै स्थानीयबासीलाई पुर्याएको सहयोगको सदैव संझना गर्नुपर्ने अतिथिद्वय चेम्जोङ र अधिकारीले बताए । छोराछोरीले बुबाको सम्झनामा गरेको सहयोगको उच्च सम्मान गर्दै सहयोगदाता परिवारलाई कदरपत्रसहित दोसल्लाले सम्मान गरेका थिए ।
हाल इलामको फाकफोकथुम १ धर्मद्वारमा २०२२ सालमा जन्मिएका स्व.भट्टराई २०४४ सालदेखि इलाम र पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा बसोबास गर्दै आए थिए । २०५० सालमा घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिको सदस्य समेत बनेका भट्टराई विभिन्न समाजिक कार्य र संघसंस्थाहरुमा पनि काम गरेका र कुशल कार्य सम्पादकको रुपमा परिचित थिए । उनले जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेमा अध्ययन गरेपछि २०४९ साल माघ १ गतेबाट आयुर्वेदिक औषधालयमा सरकारी सेवामा प्रवेश गरे । निष्कलङ्क, उद्दारवादी सोच र उत्कृष्ट कार्य सम्पादनमा अब्बल रहेका उनै भट्टराई करीब २५ वर्षको अवधिसम्म कार्यरत रहँदै गर्दा २०७४ साल साउन २७ गते ५२ वर्षको अल्पायुमा उनको असामयिक निधन भयो । थोरै समयको अन्तरालमा स्व. भट्टराई र उनको श्रीमतिको स्वर्गारोहण भएको थियो । हाल उनका एक छोरा र छोरी छन् । छोरा हाल कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत प्रशासन फाँटमा कार्यरत छन् । स्व. भट्टराईका सहकर्मी,अग्रज र शुभचिन्तक धेरै छन् ।
बुबाको सेखपछि पनि बुबाकै शुभचिन्तक र अग्रजहरुबाट बुबाले दिएको माया,ममता ,सम्मान,प्रेरणा र सद्भाव प्राप्त गरिरहेको भन्दै छोरा भट्टराईले शुभचिन्तक प्रति आभार व्यक्त गरेका छन् । छोटो समयको अन्तरालमा बुबाआमा दुवै गुमाएका भट्टराईले बुबाको सम्झनामा हरेक वर्ष केही न केही सकारात्मक र सहयोगी कामहरु गरिरहने बताए । “बुबाआमाको सपना म प्रति धेरै थियो । दैवदशा उनीहरुले देख्न नपाई अलि छिटो उमेरमा परलोक हुनुभयो अत्यन्तै दुखी छु” ,उनले भावुक हुँदै भने। सकेसम्म वहाँहरुको सपनालाई साकार पार्न हरपल कोशिस गर्ने उनले वाचा समेत गरेका छन् । सबैको नजरमा मेरो बुबा असल हुनुहुन्थ्यो, यसैकारण वहाँले सेवा गरेको कार्यालयलाई थोरै भए पनि पहिलो चोटी सहयोग गर्ने प्रयास गरेको बताए ।
२०४२ सालमा स्थापना भएको फाक्तेप आयुर्वेद औषधालयको दुई रोपनी जमीनमा हाल दुई वटा भवन छन् । संस्थापकका रूपमा यस कार्यालयमा कार्यरत स्व. मदन भट्टराई र शिलकुमार नेम्वाङ कर्मचारी रहेका थिए । उनै सहकर्मी नेम्वाङ ३३ वर्ष यस कार्यालयमा सेवा गरेर अवकाश भएका छन् । उनलाई पनि यसै अवसरमा सम्मान गरिएको छ । हाल यस संस्थामा ५ जना कर्मचारी रहेका छन् । इलाम र पाँचथरका सेवाग्राहीले सेवा लिने आयुर्वेद कार्यालयमा आजभोली पञ्चकर्म (पूर्वकर्म) लाई निरन्तरता दिन आवश्यक सामग्रीको अभाव रहेको जनाइएको छ । जेष्ठ नागरिक,स्तनपाई आमाशिशुको सुरक्षार्थ औषधी वितरण, जनरल चेकजाँच तथा परामर्श,योग अभ्यासको कामहरू हुने गरेको कार्यलयका प्रमुख श्रेष्ठले बताए । हाल स्व. भट्टराईका परिवारबाट प्राप्र फिजिकल फिटनेसको लागि महत्वपूर्ण मेशिन हस्तान्तरण भएपछि सुविधा थपिएको उनले बताए । यस संस्थाका नौ जना आयुर्वेद महिला स्वयंसेविकाले हरेक जेष्ठ नागरिक र सुत्केरी आमालाई औषधी तथा पोषणयुक्त सामग्रीहरू घरमै पुर्याउने गरेको उनको भनाई छ । यस कार्यालयबाट अम्लपित्त,प्यारालाइसिस,मोटोपन घटाउने,दम,प्रेसर,सुगर,लगायतका बिरामीहरूले सेवा लिने गरेका छन् । कार्यालयबाट वर्षेनी विभिन्न समस्याका चार हजार भन्दा बढी सेवाग्राहीले सेवासुविधा लिइरहेका तथ्याङ्क छ । साथै योग अभ्यास गराउन भने फराकिलो हलको अभाव रहेको जनाइएको छ ।