इलाम र पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा चलेको हुरीले एउटा घरको छाना उडाएको छ । उडेको छानाले नजिकैको घरको छानामा ठक्कर दिएर थप क्षति पुर्याएको हो ।
शुक्रबार दिउँसो ४ बजे फाकफोकथुम १ घुर्बिसे पञ्चमीस्थित बलीराज र कविन्द्र नेम्बाङ दुई दाजुभाईको संगोलमा रहेको घर पानीसहितको हुरीले छाना भत्काउँदा पाँच लाख बराबरको क्षति भएको छ । उक्त छानाले छिमेकी तेजबहादुर चेम्जोङको घरको छानामा ठक्कर लाग्दा एक लाख बराबरको क्षति पुगेको प्रहरी चौकी आमचोक इलामले जानकारी दिए ।
क्षति पुगेको घरमा दुई परिवार बस्दै गरेका थिए । उनीहरुको कुनै पनि सरसामानका असर नपुगेको साथै पीडितलाई अन्य सुरक्षित ठाउँमा सारिएको जनाइएको छ । उडेको छाना भुईमा खस्दा कुनै मानविय क्षति हुन नपाएको स्थानीयले बताए । निक्कै जोखिमपूर्ण तरीकाले हावाले उडाएको छाना सडकमा खसेको थियो । हरेक समय मानिसको आवतजावत हुने यस सडकमा कुनै बेला जोखिम हुनसक्ने उनीहरु बताउँछन् ।
पहाडी क्षेत्रका अधिकांश घरहरु प्रायः काठ र जस्तापातको प्रयोग गरेर बनाइएको छन् । हुस्सु र पानीका कारण मकाउने र हावाहुरी आउँदा थाहै नपाई उडाउने गरेको छ । झनै चैत्र-वैशाखको हावा हुरीमा भने पुराना संरचनाहरुमा जोखिम निम्तिने संभावना बढेको छ ।