इलाम : इलामको सन्दकपुर गाउँपालिकाले गत आर्थिक वर्ष २०८०।०८१ मा ८६ दशमलव १७ प्रतिशत वत्तीय प्रगति हासिल गरेको छ । सन्दकपुरले सो आवमा ४१ करोड १३ लाख ४७ हजार चार सय ३८ रुपैयाँ ५० पैसाको बजेट बनाएकोमा ३५ करोड ४४ लाख ८५ हजार चार सय ४२ रुपैयाँ ५८ पैसा मात्र खर्च गरेको छ ।
विषयगत रुपमा आर्थिक विकास क्षेत्रमा सात करोड ९९ लाख सात हजार आठ सय ६२ रुपैयाँ ८२ पैसा विनियोजना भएकोमा छ करोड ३० लाख ५९ हजार आठ सय तीन रुपैयाँ अर्थात् ७८ दशमलव ९२ प्रतिशत खर्च गरेको छ ।
सामाजिक विकास क्षेत्रमा १७ करोड ८३ लाख ६८ हजार पाँच सय ९३ रुपैयाँ २५ पैसामध्ये १५ करोड ९३ लाख २४ हजार आठ सय ८६ रुपैयाँ ४३ पैसा अर्थात् ८९ दशमलव ३२ प्रतिशत खर्च गरेको छ ।
पूर्वाधार विकास क्षेत्रतर्फ छ करोड ६९ लाख नौ सय १३ रुपैयाँ ९५ पैसामध्ये पाँच करोड ९८ लाख ६१ हजार चार सय ९६ रुपैयाँ ८९ पैसा अर्थात् ८९ दशमलव ४८ प्रतिशत खर्च भएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास र वित्तीय व्यवस्थापन क्षेत्रमा विनियोजित एक करोड ४५ लाख पाँच सय ६८ रुपैयाँ ४८ पैसामध्ये ९३ लाख ९० हजार चार रुपैयाँ ७१ पैसा अर्थात् ६४ दशमलव ७३ प्रतिशत खर्च भएको छ ।
त्यसैगरी प्रशासनिक खर्चतर्फ सात करोड १६ लाख ६४ हजार छ सय रुपैयाँ बिनियोजन भएकोमध्ये छ करोड २८ लाख ४९ हजार दुई सय ५० रुपैयाँ ६३ पैसा अर्थात् ८७ दशमलव ७० प्रतिशत खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नेपालले जानकारी दिए ।
मङ्गलबार समेन्चोङ भवनमा आयोजित वार्षिक समीक्षा नेपालले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष हरीबहादुर लुङ्गेली, निवर्तमान गाउँपालिका अध्यक्ष उदयबहादुर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज नेपाल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, राजनीतिक दल तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
गाउँपालिका अध्यक्ष गुरुङले समीक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।
साथै सोही कार्यक्रममा आ.व. २०८०/०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम र आ.व. २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम र बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समेत गरिएको छ ।