सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले लेदो पन्छाएर बेपत्ता खोज्दै
गोरखा : बस्तीमाथिको झरनाबाट आएको चर्को आवाजले आइतबार बिहान २ बजेतिर धार्चे–५ गुम्दास्थित रेसेफाँटका सञ्जय गुरुङको निद्रा खुल्यो । लगत्तै घरको छानामा ससाना ढुंगा खसेको सुनिन थाले । उठेर हेर्दा लेदोसहितको पहिरो बगिरहेको देखे । हेर्दाहेर्दै पहिरो छिमेकी जितबहादुर गुरुङको घर भएर बग्यो । ‘वाटर इनर्जी प्रालि हाइड्रोपावरका कामदार सहित जितबहादुरको परिवार त्यही घरमा थिए,’ सञ्जयले सुनाए ।

पहिरोले घर बगाउँदा जितबहादुरको परिवारका ३ सहित ५ जना बेपत्ता छन् । दुई जना घाइते छन् । ३७ वर्षीय जितबहादुर, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्र्याक्टर चालक २४ वर्षीय रमेश परियार पहिरोमा बेपत्ता भएका हुन् । सिङ्लाका रमेश र चालक रमेश हाइड्रोपावरका कामदार हुन् ।
सञ्जयका अनुसार पहिरोले जितबहादुरको घर र कृषि फार्म रहेको क्षेत्र पूरै ढाकेको छ । दुई वर्षअघि सिङ्लाबाट रेसेफाँट झरेका जितबहादुर बाख्रा, हाँस, बंगुरपालन गरी कृषि फार्म सञ्चालन गर्दै आएका थिए ।उनको घरमा हाइड्रोपावरका कामदार बस्थे । ‘बस्तीभन्दा केहीमाथि दिदीबहिनी झरना छ, त्यसमाथि रहेको नान्सेन सामुदायिक वनक्षेत्रबाट लेदोसहित बग्यो,’ सञ्जयले भने, ‘झरनाबाट खस्दा एक पटक आवाज आए पनि पहिरो घरमै आएपछि माथिल्लो तलामा सुतेकाहरू घर थर्किएको आवाजले भागेछन्, भान्सा रहेको भुइँतलामा सुतेकाले पहिरो आएको थाहा पाएनछन् ।’
पहिरोमा परी धार्चे–५ सिङ्लाका ३५ वर्षीय दिलीप गुरुङ र ट्र्याक्टर चालक छमबहादुर गुरुङ घाइते छन् । पहिरोले बगाएका दिलीप बिहानीपख घाइते अवस्थामा भेटिएका हुन् । ‘पहिरो छल्दै भाग्दा दिलीप तलै पुगिसकेका रहेछन्, बिहान बोल्न नसक्ने अवस्थामा भेट्यौं,’ उनले भने । घाइते भएका दुवैलाई आइतबार कैलाश एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ । सख्त घाइते रहेका दिलीपको शरीरका विभिन्न भागमा चोट लागेको र छमबहादुरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
‘घर भएको क्षेत्रभन्दा तलतिर पहिरो पन्छाएर सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘लेदो ठूलो आकारमा फैलिएकाले खोजीमा समस्या भएको छ ।’ प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले भने पहिरोमा परी घाइते भएकाको उद्धारमा सरकारले विलम्ब गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उद्धारमा सेनाको हेलिकोप्टर माग्दा ढिला गरिएको टिप्पणी गरे ।
-इकान्तिपुर