रमिते डाँडामा मोटरसाइकल दुर्घटना: छोरीको मृत्यु, आमाबुबा घाईते

पथरीशनिश्चरे : मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँ पालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परि एक बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो करिव ३ः१० बजेको समयमा मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिकाको धिमाल परिवारको ३ जना सदस्य दुर्घटनामा परेका हुन्।

रमिते टाँडि भित्रि सडक खण्डमा बा. २७ प. १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा १३ वर्षीया सुस्मिना धिमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार बेलबारी नगरपालिका१ का ३७ वर्षिय सुनिलकुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षिय छोरी सुस्मिना घाईते बनेको सूचना पाउनसाथ सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट खटिएको प्रहरीको टोलीले घाईतेहरुलाई उपचारको लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सुस्मिनाको दाहिने हातको कोखमा गम्भिर चोट लागेकाले उनको उपचारको क्रममा दिउँसो ३ः ४५ बजे निधन भएको हो ।

यता, सुस्मिनाको बुबाआमा दुवैको अरनिको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाईकल अनियन्त्रीत भई बाटो भन्दा अन्दाजी ७० मिटर तल झरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । बालिकाको शवलाई पोष्टमार्टमका लागि उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार