इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८०/८१ मा दश करोड ९८ लाख ७४ हजार तिन सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी साधन कर तर्फ आठ करोड ४४ लाख बत्तिस हजार छ सय ७८ र व्यवसाय दर्ता दस्तुरबाट १३ हजार रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट एक करोड ९५ लाख ८५ हजार पन्द्र रुपैया र यातायात क्षेत्रको आम्दानीबाट ५८ लाख ४३ हजार छ सय ८० रुपैयाँ सङ्कलन गरेको कार्यालयका प्रमुख खग्रेन्द्र मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दश करोड २ लाख ४१ हजार पाँच सय ८६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो यस्लाई हेर्दा ९५ लाख बढिले बृद्धि भएको हो ।
पशुपतिनगरबाट ४२ लाख बढी राजस्व सङ्कलन
पशुपतिनगरमा रहेको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट ४२ लाख बढि राजस्व सङ्कलन भएको छ । स्थापनाको ६ महिनामै सो केन्द्रले ४२ लाख ८५ हजार आठसय ५० रुपैया संकलन गरेको यातायात कार्यलय इलामका लेखा प्रमुख पुर्ण राईले बताउनुभयो ।
प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको छ ।
यो केन्द्र स्थापमा संगै भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा सहज भएको छ भने नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्र स्थापनाले सहजता थपेको हो । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने ब्यवस्था गरीएको छ । इलामको पशुपतिनगरमा सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो ।
इलाममा २०७१ सालमा स्थापना
यातायात व्यवस्थापनको कार्य गर्नका लागि इलाममा यातायात व्यवस्था सेवा कार्यालय २०७१ सालमा स्थापना भएको हो । यातायात क्षेत्रका हरेक काम गर्नका लागि झापा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै २०७१ अशोज २२ गते इलाममा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको थियो । इलाममा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयको कार्याक्षेत्र इलाम, झापा र पाँचथर जिल्ला हुन् । पूर्वी नेपालको पहाडी जिल्लाका सेवाग्राहीले झापा पुगेर सेवा लिनुपर्ने बाध्यता अन्त्य गर्न स्थापना भएको कार्यालयबाट सवारी संकलन र राजश्व अशुलीको काम शुरुवाती दिनमा भएका थिए ।
यातायात व्यवस्था सेवा कार्यालयबाट मुख्यगरी सवारी दर्ता, नामसारी, प्राविधिक परिक्षण, जाँचपाँस, रुट पर्मिट र पटेक कर संकलन हुन्छ । सवारी चालक अनुमति पत्रको परिक्षा संचालन, अनुमति पत्र प्रदान र वितरणको काम कार्यालयबाट हुदै आएका पूर्वी पहाडी जिल्ला सेवाग्राही खुशी भएका छन् । यातायात व्यवस्था कार्यालयमा लक्ष्य अनुसार राजश्व संकलनमा क्रियासिल रहेको छ ।