काठमाडौं : समाजवादी मोर्चामा सहभागी दलहरुले पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा एकतासम्म पुग्ने गरी कार्ययोजना बनाउन कार्यदल गठन गरेका छन् ।
एकीकृत समाजवादीको पार्टी मुख्यालय आलोकनगरमा आज बसेको समाजवादी मोर्चाको बैठकले पछिल्लो राजनीतिक परिस्थितिका कारण एकतासम्मै पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै चार सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश हमाल, नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ छन् ।
बैठकले मोर्चामा नेपाल समाजवादी पार्टीको महेन्द्रराय यादव समूहलाई समेत सहभागी गराउने निर्णय गरेको छ । यस्तै जसपा नेपाल र जसपालाई समेत मोर्चामा सहभागी गराउन कसरत गर्ने निर्णय भएको छ ।