काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले आफैँ मिलेको नभई कसैले मिलाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरू आफैँ मिलेको होइन, कसैले मिलाइएको हो । त्यो कुरा प्रस्ट छ ।’
प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दल विश्वासले नभई डरले जोडिएको बताए । ‘दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईंहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला,’ उनले भने ।
उनले प्रतिगमन र निरङ्कुशता आउने हो कि भन्ने आफूलाई चिन्ता लागेको बताए । ‘सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन,’ उनले भने ।