एसईइमा सर्वोत्तम नतिजा ल्याउने नोनिमलाई विद्यालयले दियो ५० हजार पुरस्कार

  युद्धबहादुर बोहोरा
1.5k Shares

पाँचथरः एसईइ परीक्षामा सर्वोत्तम नतिजा ल्याउने नोनिम सम्वाहाम्फेलाई शान्ति बाल विकास इङ्लिस स्कुलले ५० हजार नगदसहित पुरस्कृत गरेको छ । गत हप्ता प्रकाशित २०८० सालको परीक्षाको नतिजा सार्वजनिक हुँदा फाल्गुनन्द गाउँपालिका ५ घुर्बिसे पञ्चमीमा २०५१ सालमा स्थापना भएको शान्ति बाल विकासबाट उनले ३.६५ जिपिए प्राप्त गर्दै पालिका भरिकै सर्वोत्कृष्ट बनेकी हुन् ।

पाँचथर जिल्लाबाट २०८० को एसईइमा १३ जना सर्वोत्तम नतिजासहित सफल हुने विद्यार्थीमा इलामको फाकफकोकथुम १ पचेवा घर भई  यस विद्यालयमा अध्ययनरत  उनी पनि एक हुन् । उनले ल्याएको नतिजाले विद्यालयको मात्रै नभई सिङ्गो पालिकाको इज्जत राख्न सफल बनेकी छिन् । सर्वोत्तम नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले ५० हजार नगद दिने यस अघि घोषण गरेसंगै यसै शिलशिलामा विद्यालयले एक समारोहको आयोजना गरी पुरस्कृत गरेको हो ।

 

शुक्रवार फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृज हाङ आङ्देम्बे र विद्यालय संचालक देउमान आङ्देम्बे(डिएम)मार्फत सम्बाहाम्फेको अभिभावकलाई सम्मानपत्रसहित ५० हजार रुपैंयाको चेक हस्तान्तरण गरिएको शिक्षक बुद्धसिं केसीले बताए । यसैबीच घुर्बिसे पञ्चमी बजारमा रहेको एलबी ज्वेलर्सका संचालक लालबहादुर रहपाल(एलबी) ले सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रालाई प्रेरण,हौसला र उत्साह थप्ने मनसायले शैक्षिक सामाग्री समेत प्रदान गरेका थिए ।

इलाम र पाँचथर जिल्लाको सिमानामा २०५१ सालमा स्थापना भएको यस विद्यालयमा  दुवै जिल्लाका विद्यार्थीले पढ्ने अवसर पाएका छन् । ग्रामीण भूगोलका विद्यार्थीलाई गुणस्तर शिक्षा दिदै आएको यस संस्थाले २०५८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको हो । साथै न्यून मासिक शुल्क र एक पटक भर्ना शुल्क लिएपछि पुनः भर्ना शुल्क नलिने नीति लिएको छ । टाढा गएर राम्रो शिक्षा लिने अवसर नपाएका आर्थिक अवस्था कम्जोर परिवारका विद्यार्थीलाई सहुलियतमा सेवा दिने र उनीहरुको उज्जवल भविष्यलाई मध्यनजर गर्दै अनुभवी शिक्षकको टिमले शान्त  र स्वच्छ वातावरणमा अतिरिक्त क्रियाकलापका साथ पूर्ण अंग्रेजी माध्यमबाट सिकाइ गरिरहेकै कारण हरेक वर्षको उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले जनाएको छ ।

२०७१ सालको एसएलसीमा पाँचथर जिल्लाकै उत्कृष्ट नतिजा एवं  उत्कृष्ट विद्यालय संचालन गरेको मुल्याङ्कन गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले प्रशंसासहित सम्मान गरेको विद्यालयका संचालक  आङ्देम्वेले जानकारी दिए । ग्रामीण क्षेत्रमा शैक्षिक हवको रुपमा परिचित रहेको यस विद्यालयले  विद्यार्थी र अभिभावकको मन जितेसंगै यस संस्था प्रति धेरैको आकर्षण बढेको छ । यस विद्यालयबाट शिक्षा हाँसिल गरेका अधिकाँश विद्यार्थीहरुले शैक्षिक उन्नती र हरेक क्षेत्रमा विभिन्न स्थानमा हाल अग्रता कायम गरिरहेको जनाउँदै  कुनै ठाउँको गुणस्तर शिक्षा भन्दा यस विद्यालयको सिकाई प्रणाली कम्जोर नभएको विद्यालयले दावी गरेको छ ।

पालिका भित्र ११ वटा सामुदायिक र दुई वटा संस्थागत माध्यमिक विद्यालय मध्ये पाथिभरा बोर्डिङ स्कुल फाल्गुनन्द ३ बाट  सत प्रतिशत विद्यार्थी पास गरेको भएता पनि शान्ति बाल विकासले भने एक जना सर्वोत्तम नतिजासहित ८१.३ प्रतिशत विद्यार्थी पास गराएर पालिका भरिमा दोस्रो बनेको छ । सामुदायिक तर्फ जनकल्याण मावि कोल्बुङ प्रथम बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार