इलाम : इलाम सदरमुकाममा सञ्चालित अदुवा प्रशोधन सम्बन्धी पाँच दिने तालिम बुधबार सकिएको छ ।
इलाम नगरपालिकाको सहयोगमा महिला उद्यमी संघ इलामको आयोजना सम्पन्न तालिममा १५ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरुलाई उषा निरौला र प्रेम पाण्डेले सहजीकरण गरेका थिए ।
तालिममा अदुवाबाट बन्ने क्याण्डी, जुस तथा विभिन्न किसिमका अचारहरु बनाउन सिकाइएको थियो ।
इलाम नगरपालिकाका उपप्रमुख बिष्णुकुमारी लिम्बू दाहालले उद्घाटन गरेको तालिमको समापन नगर प्रमुख केदार थापाले गरे ।
समापन कार्यक्रममा ५ नं. वडा अध्यक्ष काजीबहादुर श्रेष्ठ, सम्झना ढाका उद्योगकी प्रोप्राइटर देबिका लिम्बू, ग्रीन सिटि ललिपप उद्योगकी दिपा गुरूङलगायतको उपस्थिति थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले अहिले तालिम लिएका र पछि यसैमा आवद्ध हुने सहभागीलाई थप अतिरिक्त कक्षा संचालन गर्ने र प्याकेजिङ तथा ब्रान्डिङ गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
तालिम समापन महिला उद्यमी संघकी अध्यक्ष रोमी पौडेलको अध्यक्षतामा भएको थियो ।