इलाम : नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि इलाम जिल्लामा संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम बुधबार इलाममा भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामको आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका छ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम गरिएको थियो । इन्सेकले संकलन गरेको घटनामाथि त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।
इलाम जिल्ला प्रतिनिधि मनोज अधिकारीले छ महिनादेखिका घटनालाई प्रस्तुत गरेका थिए । उनका अनुसार, इन्सेकले इलाम जिल्लामा सन् २०२४ जनवरीदेखी जुनसम्म ३२ ओटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको छ ।
बलात्कारका १२ ओटा घटना रहेका छन् । ती मध्ये बालिका बलात्कारका सात ओटा र महिला बलात्कारका ५ ओटा छन् । त्यसैगरी हत्याको २ र परिवारजनबाट हत्याको एक ओटा घटना छन् । घरेलु हिंसाका सात र अभद्र व्यवहारको दश ओटा घटना इन्सेकले अभिलेख राखेको छ ।
कार्यक्रमका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले अन्य जिल्लाको तुलनामा इलाममा मानव अधिकार उल्लङ्घनका घटना कम नै देखिएपनि घटना शुन्य बनाउनतर्फ सबै सचेत बन्नुपर्ने बताए
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक प्रकास जवेगुले इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएका डाटा र छलफलमा उठेका अन्य मानव अधिकारका विषयमा प्रहरी सचेत भएर अघि बढ्ने बताए ।
इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेस श्रेष्ठले इन्सेकले मावनअधिकार रक्षाका लागि उल्लेखनीय काम गरेको बताए ।
मानव अधिकार मञ्च नेपाल, इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले इन्सेक र मञ्चले सँधै सहकार्य गर्दे आएकाले इलाममा मानव अधिकारको अवस्था सरोकारवालालाई बुझाउन सहज हुने गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले मानवअधिकार उल्लंघनमा राज्य संलग्न हुने र अपराधमा आम मान्छेको संलग्नता हुने सुनाउनुभयो । ‘प्रहरीमा सहजै उजुरी दर्ता नहुनु पनि मानवअधिकार उल्लंघन हो’ उहाँले बताउनुभयो । उहाँले इन्सेकले आगामी दिनमा अझ परिस्कृत हुँदै डाटाहरु प्रस्तुत गर्दा राज्यपक्षबाट भएका घटनालाई छुट्टै अभिलेख गर्न अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लप भट्टराईले इन्सेकले संकलन गरेका घटनालाई राज्यले सचेत भएर आगामी दिनमा यस्ता घटनालाई न्यूनीकरण गर्न लाग्नुपर्ने बताए ।
नेपाल बार एशोसिएसन इलामका अध्यक्ष तारानाथ पराजुलीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने वर्ष पुस्तकले मानव अधिकारको अवस्था उजागर हुने भएकाले जनशक्ति थप गरेर शुक्ष्म अध्ययनमा लाग्नुपर्ने धारणा राखे । जिल्ला कारागार इलामका प्रमुख गौरभ ढुङ्गेलले इन्सेकले राज्यतर्फबाट भएका अपराधका घटनाका सम्बन्धमा बढी चासो राख्नुपर्ने सुझाव दिए ।