लिम्बू र वान्तवा भाषालाई सरकारी कामकाजी बनाउँदै माङसेबुङ गाउँपालिका

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू र वान्तवा भाषालाई सरकारी कामकाजी बनाउने भएको छ ।

लिम्बू र राई जातिको बाहुल्यता रहेको माङेबुङ गाउँपालिकाले स्थानीय मातृभाषाको सम्मान गर्दै आउँदो आर्थिक वर्षदेखि सरकारी कामकाजीको रुपमा लागू गर्ने भएको हो ।

माङसेबुङ गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष हेमन्त राईले आउँदो आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू र वान्तवा भाषालाई पालिकाभरी कामकाजी बनाउने प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएसँगै कामकाजीका रुपमा लागू गर्ने बाटो खुलेको हो । लिम्बू भाषा सरकारी कामकाजी बनाउने नीतिगत निर्णय आ.व. २०७९।०८० मा नै पारित गरेको भएपनि कार्यान्वयन २०८१।०८२ देखि मात्र हुन लागेको हो ।

सो निर्णय कार्यान्वयनका लागि एक जना लिम्बू भाषिक कर्मचारी र एक जना वान्तवा भाषिक कर्मचारी नियुक्त गरिने गाउँपालिका अध्यक्ष राईले बताए । उनीहरुले कार्यालय र सेवाग्राहीबीच ‘दोभाषे’ को काम गर्नेछन् ।

‘लिम्बू र वान्तवा भाषालाई सरकारी कामकाजी कार्यान्वयन गराउने एक/एक जना दुवै भाषिक कर्मचारी नियक्त गरिनेछ,’ अध्यक्ष राईले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्, ‘त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।’

यसअघि माङसेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाले परीक्षणका रुपमा एक/एक वडामा लिम्बू भाषालाई कामकाजी घोषणा गरी लागू गरेको थियो । यसपटक माङसेबुङले एकैपटक पालिकाभरी  लिम्बू र वान्तवा भाषालाई कामकाजी बनाउने तयारी गरेको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार माङसेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू र ३७ प्रतिशत राई जातिको बसोबास रहेको छ । लिपि भने दुवै भाषाका लागि किरात सिरिजंगा लिपि प्रयोग गर्नेछ  ।

जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले ५ नं. वडामा २०७५ सालमा र चुलाचुली गाउँपालिकाले वडा नं. १ मा २०७७ सालमा लिम्बू भाषालाई कामकाज भाषाका रुपम लागू गरेको थियो । लिम्बू जातिको एकल बाहुल्य रहेको ती वडामा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजीको रुपमा प्रयोगमा ल्याइएको हो ।

ती वडाले आफ्नो कार्यालयको साइनबोर्ड, कार्यालयको लेटरप्याड, छाप एवम् विभिन्न अनुसूची फारामहरु समेत लिम्बू भाषा र किरात सिरिजंगा लिपि प्रचलनमा ल्याएको छ ।

डाक्टर’ र ‘प्राविधिक विषय’ पढ्नेलाई छात्रवृत्ति

माङसेबुङ गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले ‘डाक्टर’ र ‘प्राविधिक विषय’ पढ्नेलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । माङसेबुङ गाउँपालिका क्षेत्रभित्रमा स्थायी बसोबास गरी एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन र सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउने एक/एक जना छात्र र छात्रालाई प्राविधिक विषय कृषि, पशु, सिभिल इन्जिनियरिङ र सर्भेयर अध्ययन गर्नको छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, माङसेबुङले मातृभाषा बान्तवा भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी बान्तवा भाषीहरुको बाहुल्य रहेका विद्यालयहरुमा पठनपाठन सुरु गर्ने  त्यसका लागि शिक्षक दरबन्दीको व्यवस्था गरिने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार