इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । देउमाईको नवौं नगर सभाको अधिवेशनमा नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले प्रस्तुत गरेको नगरको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।
मैले देउमाई नगरपालिकालाई बसौँ बसौँ लाग्ने गाउँहरु र सहरहरु निर्माण सँगै समुन्नत र समृद्ध नगरपालिकाको रुपमा अघि बढाउन आगामी आ.व. २०८१/ ०८२ मा अवलम्बन गरिने नीतिहरु स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को व्यवस्था अनुरुप तयार गरेको नगरप्रमुख पोख्रेलले बताए ।
नगरप्रमुख पोख्रेलले ज्येष्ठ नागरिक पोसाक भत्ता, एकल पुरूष भत्ता, तेस्रो लिङ्गी नागरिक भत्ता, ४५ वर्ष माथिका अविवाहित महिलालाई भत्ता, पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ता तथा मृत्यु दाहसंस्कार सहयोग र मातृशिशु पोषण कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको बताए । दीर्घरोगी उपचार यातायात सहयोग कार्यक्रमलाई समेत निरन्तरता दिएको छ ।
त्यस्तै, कृषक र कृषि उत्पादनको प्रवर्धनको निम्ति कृषकसँग साझेदारीमा कृषिको व्यवसायीकरण, विविधिकरण र बजारीकरण गर्न प्लाष्टिक टनेल, काउम्याट वितरण, कृषि औजार वितरण, हाते ट्याक्टर र च्यापकटर वितरण, घाँस, तरकारी तथा फलफुलका विउ विजन वितरण, स्थानीय स्तरमै विउ विजन उत्पादनको लागि साझेदारीमा नर्सरी स्थापनाको कार्यक्रम, पशुको नस्ल सुधारको लागि आवस्यक बजेट विनियोजन गरेको नगरप्रमुख पोख्रलेलले बताए ।
नीति तथा कार्यक्रमकोप पूरा पाठ हेर्नुहोस् :
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम
नगर सभा मा पेश मितिः२०८१-०३-०५
नगर सभा द्वारा पारित मितिः २०८१-०३-०५
देउमाई नगरपालिकाको नबौँ नगर सभामा उपस्थित सभाका सदस्य ज्यूहरु, देउमाई नगरपालिकाको नवौँ नगर अधिवेशनको यो ऐतिहासिक, संवेदनशील एवं महत्वपूर्ण क्षणमा हार्दिक स्वागत अभिवादन गर्दछु।
देउमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभा समक्ष प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।यस अवसरमा म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र स्थानीय स्वशासनको लागि नेपाली जनताले गर्दै आएको ऐतिहासिक जनआन्दोलनहरुमा वलिदानी गर्ने शहिदहरु प्रति उच्च सम्मान व्यक्त गर्दै नेपालको सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु साथै नेपाली समाजको रुपान्तरणका लागि पुर्याउनु भएको उच्च योगदानको पुनःस्मरण गर्न चाहान्छु।
देउमाई नगरपालिकाको आगामी आ.व.२०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा लोककल्याणकारी अवधारणा, संविधानले परिकल्पना गरेको समाजवादतर्फको यात्रा र विकासको क्रममा आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेका समुदायहरु समेतलाई मध्यनजर गर्दै नगरवासीको सर्वोपरी हितलाई केन्द्र भागमा राखी तयार पारिएको छ।
सभाका सदस्य ज्यूहरु,
आर्थिक वर्ष २०८१/ 082 मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त ससर्त अनुदान, समानीकरण अनुदान, राजस्व बाँडफाड, समपुरक अनुदान र विशेष अनुदान तथा आन्तरीक आयलाई मुख्य श्रोत मानि बजेट तर्जुमा गरि नगरपालिका क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरु यस नीति तथा कार्यक्रमका आधारमा सञ्चालन हुनेछन्।
आर्थिक वर्ष २०८१/ 082 को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा निम्नलिखित विषय वस्तुहरुलाई आधार मानी तयार गरिएको छ ।
क. नेपालको संविधान,
ख. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
ग. संघ र प्रदेश सरकारबाट प्राप्त निर्देशनहरु,
घ. दातृ निकायसँग भएका सम्झौताहरु,
ङ. वडा समितिबाट प्राप्त भएका माँगहरु तथा सुझावहरु,
च. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जूमा दिग्दर्शन, २०७४,
छ. श्रोत साधनको उपलब्धता,
ज. सरोकारवालाहरुको राय सुझाव,
झ. सोह्रौँ पञ्चवर्षीय योजना,
ञ. दिगो विकास लक्ष्य
नगरवासीले दिएको अगाध माया र ममताबाट प्रेरित भई मैले देउमाई नगरपालिकालाई बसौँ बसौँ लाग्ने गाउँहरु र सहरहरु निर्माण सँगै समुन्नत र समृद्ध नगरपालिकाको रुपमा अघि बढाउन आगामी आ.व. २०८१/ 082 मा अवलम्बन गरिने नीतिहरु स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को व्यवस्था अनुरुप प्रस्तुतिका लागि अनुमति चाहन्छु ।
१.शिक्षा, युवा तथा खेलकुद
- देउमाई नगरपालिकालाई शैक्षिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य अनुरुप हाल भानुभक्त मा.वि., मंगलबारेमा प्राविधिक धार अन्तर्गत सिभिल ईन्जिनियरिङ्ग, जितपुर मा.वि.,जितपुरमा पशुविज्ञान र खान्द्रुङ्ग मा.वि.,पञ्चमीमा विज्ञान संकाय सञ्चालन गरिदै आएकोमा यस आ.व.मा समेत साधन स्रोतको यथोचित व्यवस्थापनलाई निरन्तरता दिने नीति अवलम्बन गरिनेछ।
- विद्यालय भर्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक नीति लिइने छ।
- देउमाई नगरभित्रमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा सत्र्चालित विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- गरीविका कारणले शिक्षामा पहूँच नहुने अवस्थालाई अन्त्य गर्न विद्यालयहरुमा छात्रवृति कोष कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- शिक्षण सिकाईलाई आधुनिक, समयानुकूल र प्रविधिमैत्री बनाउने नीति लिइनेछ।
- संघीय सरकार, प्रदेश सरकार र दाताहरुको समन्वयमा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु र मंगलबारे बहुमुखी क्याम्पसको शैक्षिक वातावरण तथा भौतिक पूर्वाधार विकास र स्तरोन्नतीका लागी आवश्यक पहल गरिनेछ।
- परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण, प्रवर्धन तथा थप विद्यालय विस्तार गर्ने नीति लिइनेछ।
- नगर प्रमुख छात्रवृति कोषबाट ईन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइने छ।
- सिङ्गो देउमाई नगरपालिकाको परिचय आम विद्यार्थीमा पुर्र्याउने लक्ष्य अनुरुप “हाम्रो देउमाई” पाठ्यपुस्तक तयार गरि कक्षा १ देखि ५ सम्म लागू भएसकेको छ।यस आ.व.मा कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक तयार गरी सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गर्ने नीति लिइनेछ ।
- सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निशुल्क वितरण गरिदै आएको स्यानिटरी प्याड वितरण कार्यक्रममा आगामी आ.व.बाट नगर भित्रका सम्पूर्ण संस्थागत विद्यालयहरु तथा मंगलबारे बहुमुखी क्याम्पसका छात्राहरुलाई समेत समावेश गर्ने नीति लिइनेछ।
- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ।
- शैक्षिक उपलब्धिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय र उत्कृष्ट शिक्षकलाई नगर शिक्षा पदकबाट सम्मान गरिनेछ।
- Book Free Friday को अवधारणा अनुरुप हरेक शुक्रबार एक क्रियाकलाप, हरेक महिना एक प्रतियोगिता कार्यक्रम मार्फत बालबालिकाको प्रतिभा विकास गर्ने नीति अवलम्बन गरिनेछ।
- हाम्रो विद्यालय आफै बोल्छ कार्यक्रम अन्तर्गत विद्यालयका अनुकरणीय अभ्यास, शैक्षिक उपलब्धि र अब्बल विद्यार्थीहरुको अभिलेख राखी उजागर गर्ने नीति अवलम्बन गरिनेछ।
- युवालाई व्यवसायिक एवं उद्यमी बनाउन विभिन्न प्रकारका व्यवसायिक तथा सीपमूलक तालिम प्रदान एवं प्रविधि वितरण गर्न आवश्यक नीति लिइनेछ।
- “स्वस्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई साकार बनाउन नगर क्षेत्रभित्र विभिन्न स्थानमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै युवाहरुलाई खेलकुद गतिविधि तर्फ आकर्षित गर्न विभिन्न खेल विधाका नगर, जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने नीति लागू गरिनेछ।
- नगर स्तरीय अन्तर मा.वि. छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुदै आएकोमा आगामी आ.व.बाट नगर स्तरीय अन्तर आ.वि. (१-८) छात्रा फुटबल प्रतियोगिता समेत सञ्चालन गर्ने नीति लिइनेछ।
- नगरभित्र सञ्चालन हुने सम्पूर्ण खेल तथा खेलाडीलाई प्रोत्साहन गर्ने नीति लागू गरि यूवालाई लागुपदार्थ दुर्व्यसनबाट टाढा रहन प्रेरित गरिनेछ।
२.स्वास्थ्य
- विशेषज्ञ सहितको अत्याधुनिक स्वास्थ्य सेवा नगरवासीलाई प्रदान गर्न देउमाई नगरपालिकामा निर्माणाधिन १५ शैय्याको नगर अस्पताललाई आगामी आ.व. भित्र निर्माण सम्पन्न गरि सञ्चालन गर्न आवश्यक नीति लिइनेछ।
- सुरक्षित मातृत्व तथा बालपोषण कार्यक्रमलाई निरन्तरता दिदै अपाङ्गता गर्भमै रोकथाम गर्नका लागि चौमासिक गर्भ जाँचलाई प्रोत्साहन गर्न प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेमा सञ्चालनमा रहको भिडियो एक्स-रे सेवालाई थप व्यवस्थित बनाइनेछ र वडा स्तरमै गर्भवती महिलाहरुका निशुल्क भिडियो एक्स रे सेवा विस्तार नीतिलाई निरन्तरता दिइनेछ।
- “नगरको इच्छा आमा बच्चाको सुरक्षा” नारा सार्थक बनाउन नगरभित्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि जिल्ला अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ।
- “स्वस्थ एवं समृद्ध देउमाई” साकार पार्न महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई उच्च मूल्याङ्कन गर्दै प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने राष्ट्रिय निःशुल्क कार्यक्रमका अत्यावश्यक औषधिहरुको स्टक आउट हुन नदिन नियमित आपूर्तिको ब्यवस्थापन गरिनेछ साथै नसर्ने तथा मानसिक रोगको औषधि व्यवस्थापनलाई निरन्तरता दिइनेछ ।
- “स्वस्थ जीवनका लागि नियमित योग” भन्ने नारा साकार बनाउन आयुर्वेद सेवा सुदृढीकरण तथा सबलीकरण कार्यक्रम मार्फत योग शिविर सञ्चालन तथा आयुर्वेद सेवा विस्तार कार्यलाई निरन्तरता दिइनेछ ।
- विगतका वर्ष देखि प्रदान गर्दै आएको विपन्न नागरिक औषधी उपचार सम्बन्धी जटिल प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई उपचारको पहूँच सम्म पुर्याउन आवश्यक यातायात सहयोगको ब्यवस्थालाई निरन्तरता दिईनेछ ।
- सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- नियमित खोप कार्यक्रमलाई थप व्यवस्थित गर्दै यस आ.व.मा झै आगामी आ.व.मा पनि देउमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- खोप केन्द्रको भवन निर्माणका लागि आवश्यक नीति लिइनेछ।
- प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेबाट उपलब्ध हुने ल्याव सेवालाई सुदृढ र थप व्यवस्थित बनाउन आवश्यक नीति लिइनेछ।
- क्षयरोग मुक्त पालिका घोषणाका लागि आवश्यक निति अवलम्वन गरिनेछ।
३.भौतिक पूर्वाधार विकास
- देउमाई नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको निर्माण सम्पन्न भइसकेकाले नगरपालिकाद्वारा प्रदान गरिने सम्पूर्ण दैनिक तथा प्रशासनिक सेवाहरू एकद्वार प्रणाली मार्फत प्रदान गरि शुशासनको प्रत्याभूत हुने नीति अवलम्बन गरिने छ।
- “टोल विकासमा हामी, पालिकासँग सहलगानी” भन्ने नारालाई साकार बनाउन मागमा आधारित पुर्वाधार निर्माणमा ५० प्रतिशत लागत साझेदारी गर्न इन्छुक टोल/समुदाय र संघ संस्थालाई प्राथमिकता दिने नीति अवलम्बन गरिनेछ।
- नगरभित्रका सम्पूर्ण सडक सञ्जाललाई क्रमिक रुपमा अल वेदर (All Weathered) बनाउनको लागि कार्ययोजना बनाई लागु गर्न आवश्यक निति लिइनेछ।
- नगर यातायात गुरुयोजना अनुरुप सडक नीति लागू गरिनेछ ।
- देउमाई नगरपालिकाको दिर्घकालिन विकासका लागि राष्ट्रिय आवधिक योजनासँग तादम्यता कायम हुने गरि आवधिक विकास योजना तथा मध्यकालीन खर्च कार्ययोजना तयार गरि लागु गरिनेछ।
- शहरी क्षेत्र तथा ग्रामिण सडकहरुको स्तरवृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिने नीति लिइनेछ ।
- नयाँ सडक वनाउने कार्यलाई निरुत्साहित गर्दै विद्यमान सडकहरुको गुणस्तरीय स्तरोन्नतिको कार्यलाई प्रोत्साहित गरिने छ।
- विगतमा शुरुवात भई विभिन्न कारणवश सम्पन्न हुन नसकेका अधुरा आयोजनाहरुलाई आगामी आ.व. मा निरन्तरता दिने नीति लिइनेछ।
- संघ तथा प्रदेश सरकारसँगको समन्वय – सहकार्यमा देउमाई नगरपालिकाको केन्द्र मंगलबारे र मेची राजमार्ग जोड्ने नेपालटार-मंगलबारे सडकखण्ड स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइने छ।
- झोलुङ्गेपुल विस्तार आयोजनालाई निरन्तरता दिइनेछ।
४.रोजगारी तथा गरिवी निवारण
- नगरक्षेत्र भित्रका श्रम सक्रिय जनशक्तिलाई स्वरोजगार तर्फ उन्मुख गराउन घरेलु तथा साना उद्योग क्षेत्र, सीप तथा व्यवसाय प्रवर्द्धन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरी सम्बन्धित सीपलाई उजागर गरी क्षमता अभिवृद्दि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- नगरका सम्पूर्ण रोजगारीका कार्यक्रमहरु एकिकृत रुपले सञ्चालन गर्न तथा बेरोजगार व्यक्तिहरु एवं रोजगारदाताहरुको वास्तविक तथ्याङ्क राख्न, अद्यावधिक गर्न लगायतका रोजगारी सम्बन्धी सम्पूर्ण सेवा प्रदानका लागि रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा विस्तार गर्ने उद्देश्य अनुरुप रोजगार सेवा केन्द्र, सुरक्षित आप्रवासन कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई एकीकृत रुपले सञ्चालन गर्न श्रम तथा रोजगार प्रवर्द्धन शाखाको स्थापना भइसकेकाले एकिकृत रुपले सेवा प्रवाह गर्न आवश्यक नीति लिइनेछ।
- वैदेशिक रोजगारीबाट फर्केका तथा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सिप र क्षमताको पहिचान गरी स्वदेश मै रोजगार बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा समाहित गर्दै स्वरोजगार बनाइनेछ।
- वैदेशिक रोजगारीमा गएका तथा वैदेशिक रोजगारीबाट फर्कि आएका र निजको परिवारको सामाजिक सुरक्षा तथा सहायताको लागि सुरक्षित आप्रवासन कार्यक्रमसँग समन्वय तथा सहकार्यका लागि बजेट व्यवस्थापन गरी कार्यक्रम प्रभावकारी बनाउन आवश्यक नीति तय गरिनेछ।
- वैदेशिक रोजगारीमा जाने तथा वैदेशिक रोजगारीबाट छुट्टीमा आएका युवाहरुको श्रम स्वीकृतिको कार्य रोजगार सेवा केन्द्रबाटै प्रदान गरिनेछ।
- नगरपालिकामा सञ्चालन हुने निर्माण योजनामा स्थानीय जनशक्तिको प्रयोगलाई प्रोत्साहन दिने नीति लिइनेछ ।
- सार्वजनिक पूर्वाधार निर्माण तथा प्रधानमन्ञी रोजगार कार्यक्रमका आयोजनाका लागि आवश्यकता अनुसार निर्माण सामाग्री तथा औजार व्यस्थापन गर्न आवश्यक नीति लिइनेछ।
- बेरोजगार व्यक्तिहरुका लागि कार्यस्थलमा आधारित सीप विकास तालिम प्रदान गरि स्वरोजगार बन्न प्रोत्साहन गरिनेछ।
५.खानेपानी, सिँचाई तथा सरसफाई
सभाका सदस्य ज्यूहरु,
- स्वच्छ खानेपानी स्वस्थ जीवनको पहिलो आधार हो।पुर्णरुपमा स्वच्छ र पर्याप्त खानेपानीको प्रत्याभूत गराउन खानेपानी सञ्जालको विस्तार तथा धारा जडान कार्यलाई तिव्रता दिइनेछ।
- दीर्घकालीन खानेपानी समस्या समाधानका लागि नयाँ श्रोतको व्वस्थापन गर्ने नीति अनुरुप बृहत देउमाई खानेपानी आयोजनाका लागि पहल गरिनेछ।
- टोल तथा वस्ती स्तरका खानेपानी आयोजनाहरुलाई क्रमशः नगरको मातहत ल्याइ व्यवस्थित गर्ने नीति अनुरुप एकिकृत गर्दै लगिनेछ।
- कृषि योग्य जमिनमा सिँचाई सुविधा पुर्याउन आवश्यक नीति लिइनेछ ।
- स्वच्छ एवं स्वस्थ पर्यावरणलाई दृष्टिगत गर्दै फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य वस्तुहरुलाई क्रमिक रुपले निरुत्साहित तथा न्यूनीकरण गर्दै लगिने छ ।
- बढ्दो शहरीकरणका कारण वृद्धि हुदै गरेको फोहोरमैला व्यवस्थापनका लागि वडाहरुको समन्वयमा फोहोरमैला संकलन केन्द्र स्थापनाका लागि उपर्युक्त स्थान पहिचान गर्ने नीति लिइनेछ।
- सुन्दर शहर हराभरा नगर बनाउने अभियान अन्तर्गत सार्वजनिक स्थलहरुमा डस्टविन व्यवस्थापन तथा पुष्परोपण कार्यका लागि आवश्यक नीति लिइनेछ।
६.वन, वातावरण तथा विपद् व्यवस्थापन
- “स्वच्छ नगर सक्षम नागरिक” भन्ने नाराका साथ वातावरण मैत्री शासन संचालन गर्ने नीति अंगिकार गरिनेछ।
- जलाधार तथा खानेपानी मूहानलाई संरक्षण गर्न आवश्यक नीति अवलम्बन गरि वृक्षरोपण कार्यक्रम निरन्तरता दिइनेछ।
- सडक तथा संरचनाहरु निर्माण गर्दा वन तथा वातावरणको क्षति न्यूनीकरण गर्ने उपाय (वायो ईन्जिनियरिङ्ग) अवलम्बन गरि विकास निर्माणका कार्यलाई अघि बढाइनेछ।
- बहुक्षेत्रगत विपद् नक्सांकन तयार गरि विपद सम्बन्धि रणनीति तयार गरिनेछ।
- स्थानीय विपद् सहायता कक्ष निर्माण गरिनेछ।
- नगरपालिकाका विभिन्न सडक तथा संरचनाको निर्माणको लागि वातावरण प्रभाव मुल्यांकन तथा विष्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गरि नगर आयोजना बैंकको स्थापना गरिनेछ।
७.कृषि तथा पशु
सभाका सदस्य ज्यूहरु,
- “देउमाई नगरपालिकाको पहिचान प्रांगारिक खेती अभियान” लाई साकार रुप दिन कृषिलाई वाध्यता हैन रहरका रुपमा विकास गर्ने गरि व्यवसायिक कृषि प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- ”घर घरमा करेसावारी, भान्सा – भान्सामा ताजा तरकारी” अभियान मार्फत विभिन्न जातका तरकारी तथा फलफुलका बिउ वितरण तथा सिँचाइ व्यवस्थापनका आवश्यक नीति लिइनेछ।
- उन्नत खालका पशुपालन, व्यवसायिक तरकारी तथा फलफूल खेती, व्यवसायिक मत्स्यपालन, मौरीपालन, अलैची, अकबरे खोर्सानी, किवि, अदुवा, चिया, कफि, बेसार लगायतका नगदेबाली व्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
- कृषि तथा पशुपंक्षी सम्बन्धी तथ्यांक अद्यावधिक गरी किसान सुचिकरण र कृषक परिचय पत्र वितरण कार्यक्रमलाई आगामी आ.व.मा सम्पन्न गरिनेछ।
- कृषि उद्पादनको विविधीकरण, व्यवसायिकरण र बजारीकरण गर्दै लैजाने नीति अनुरुप कृषि तथा पशु बजारकेन्द्र र पशु वधशाला व्यवस्थित गरि सञ्चालनमा ल्याइनेछ।
- बाली तथा पशुपंक्षी प्रवर्द्धन कार्यक्रम मार्फत देउमाई नगरपालिकालाई आत्मनिर्भर बनाइ निर्यातमूखी बनाउन आवश्यक नीति लिइनेछ।
- दुग्घ डेरी आद्युनिकिरण तथा छुर्पी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- “हाम्रै नगरको झ्याले आलु – अर्गानिक खानपानमा नगरवासी सिपालु ” कार्यक्रम मार्फत स्थानीय उत्पादन वृद्धि गर्न, विऊ संरक्षण गर्न तथा वितरण, उत्पादित वस्तुको बजारीकरण गर्ने नीति लिइनेछ।
- कृषि सहकारिता, सामुहिक खेती र सामुहिक पशुपालन प्रणालीलाई उत्पादन वृद्धिको आधार बनाउन सहकारी दर्ता ऐन अनुसार दर्ता प्रकृयालाई प्रोत्साहित गर्ने नीति लिइने छ।
- सेवा प्रवाहलाई सु-व्यवस्थित गर्न कृषि तथा पशु क्षेत्रमा विज्ञ जनशक्तिको व्यवस्थापन गरिनेछ।
- माटो परीक्षण शिविर सञ्चालनलाई निरन्तरता दिइनेछ।
- कृषि आद्युनिकिकरण तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ
- पशु लश्ल सुधारका लागि वडा नं. ४ मा सञ्चलित कार्यक्रमलाई निरन्तरता दिदै अन्य वडामा विस्तारका लागि आवश्यक नीति लिइनेछ।
- नगर भित्रका उत्कृष्ट उद्यमी तथा कृषकको पहिचान गरि प्रोत्साहन गर्ने नीति लिइनेछ।
८.पर्यटन
- नगर पर्यटन गुरुयोजना अनुरुप निर्देशिका बनाई पर्यटकीय गन्तव्यहरुको संरचनागत विकास कार्यलाई निरन्तरता दिइनेछ।
- सिद्धिथुम्का चुली, पानीटार चियाबगान, गुफाथुम्की, झ्याउपोखरी एवं विश्वको ठूलो लालीगुँरास लगायतका क्षेत्रहरुको संरक्षण र पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकता दिइनेछ साथै कुहिभिर क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने नीति लिइनेछ।
- देउमाई नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको भौतिक संरचना निर्माण तथा प्रचार-प्रसार गर्ने नीतिलाई निरन्तरता दिइने छ।
९.विद्युत तथा वैकल्पिक उर्जा
- “हाम्रो देउमाई उज्यालो देउमाई” अभियानलाई साकार बनाउने नीति अनुरुप आगामी आ.व.मा पूर्ण विद्युतिकरण पालिका घोषणा गरिनेछ।
- वैकल्पिक उर्जा प्रवर्धन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ।
१०.लक्षितवर्ग तथा समावेशीकरण
सभाका सदस्य ज्यूहरु,
- घरेलु तथा लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- बालमैत्री नगरपालिका निर्माण तथा बालश्रम अन्त्यका लागि आवश्यक नीति अवलम्वन गरिनेछ।
- महिला प्रवर्द्धन कार्यक्रम मार्फत नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर एवं उद्यमी बनाउदै रोजगारीको विकास तथा स्थानीय श्रोत-साधन परिचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- लक्षित वर्गका भवन निर्माणलाई निरन्तरता दिइनेछ।
- घरेलु हिंसामा परेका व्यक्तिहरुलाई उद्धार, राहत तथा पुनर्स्थापना गर्नका लागि आवश्यक नीति लिइने छन्।
- अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयानका लागि आवश्यक सहयता साभाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- प्रदेश सरकारको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ।
११.मानव संशाधन विकास
- नगरपालिकाको कर्मचारी सांगठनिक संरचना तयार पारि लागु भइसकेको हुँदा आगामीमा आ.व.मा सोहि संरचना अनुरुप सेवाप्रवाह चुस्त बनाइनेछ ।
- जनप्रतिनिधीहरु, न्यायिक समिति तथा मेलमिलाप समितिको क्षमता अभिवृद्धिका लागि आवश्यक नीति तय गरिनेछ।
- कर्मचारीहरुको बृहत्तर विकासका लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमण तथा असल अभ्यास सिकाईका लागि आवश्यक नीति लिइनेछ।
१२. सूचना, सञ्चार तथा प्रविधि
सभाका सदस्य ज्यूहरु,
- नगरपालिकाबाट दैनिक रुपमा प्रवाह हुने सेवालाई छिटो, छरितो तथा थप पारदर्शी बनाउने नीति अनुरुप नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनलाइनमा आधारित बनाइनेछ ।
- सञ्चार क्षेत्रको विकासका निम्ति स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
- नगरपालिका हाताभित्र सुचना केन्द्रको स्थापना गरि नगरको सम्पूर्ण सूचना सहज रुपमा प्रदान गर्ने व्यवस्था मिलाइनेछ।
१३.सामाजिक सुरक्षा एवं संरक्षण
- “नगरको चाहाना नागरिकहरुको सुस्वास्थ्यको कामना” भन्ने नारा अनुरुप सामाजिक संस्कारबाट एकल रुपमा रहन बाध्य भएका एकल पुरुषहरुलाई प्रदान गरिदै आएको एकल पुरुष भत्ता तथा ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ।
- मृत्यु दाहसँस्कार सहयोग तथा मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रदान गरिदै आएको निर्वाह भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- नगरमा रहेका तेस्रो लिङ्गी तथा ४५ वर्ष माथीका अविवाहित महिलालाई समेत सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- नगरपालिका भित्र पहेलो कार्ड प्राप्त अपाङ्गहरुलाई दिइदै आएको भत्तालाई निरन्तरता दिइनेछ।
- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नागरिकका सन्तानलाई रोजगार बोर्डबाट अध्ययन छात्रवृत्ति पाउने अवस्था नभएमा उचित छात्रवृत्ति प्रदान गर्न आवश्यक नीति लिइनेछ।
१४.राजश्व तथा बित्तीय व्यवस्था
- चरम आर्थिक संकटको कारण धरासायी भएका व्यवसायहरु जुर्मुराउदै गरेको वर्तमान परिवेशमा करको दर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो वनाउदै प्रगतिशील कर संकलन नीति अवलम्वन गरिनेछ।
- सम्पुर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई अनिवार्य रुपमा करका दायरामा ल्याउन आवश्यक नीति लिइनेछ।
- देउमाई नगरपालिकाको आन्तरीक राजस्व वृद्धिका लागि सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र कानुनले वर्जित गरेका वाहेक बन क्षेत्रका वन्यजन्तु एवं जडिबुटिको कारोवारलाई करको दायरामा ल्याउने नीति लिइनेछ।
- नगरको समग्र राजस्व वृद्धिका लागि राजस्व सुधार योजना तयार भइसकेकाले सोही अनुसार आगामी आ.व. बाट कार्यान्वयन गरिनेछ।
१५. भू-व्यवस्थापन, सहरी विकास र आवास व्यवस्था
सभाका सदस्य ज्यूहरु,
- भूमि व्यवस्थापन आयोगद्वारा संचालित कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न समन्वय र सहकार्य गरिनेछ।
- पुराना घरको अभिलेखिकरण तथा नयाँ घरको नक्शा पास अनिवार्य गरिने छ।
- भू-उपयोग राष्ट्रिय विकास नीति लागु गरि नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा भू-वर्गिकरणको लगत व्यवस्थित गरिनेछ ।
- सार्वजनिक तथा निजी भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता कडाईका साथ लागू गरिनेछ। साथै विद्युतीय घरनक्शा पास प्रणाली कार्यान्वयनमा ल्याइने छ।
- विपन्न नागरिक तथा दलित नगरवासीहरुको आवास सुधारका लागि सुधारका लागि विशेष नीति लिइनेछ।
१६.प्राकृतिक श्रोत व्यवस्थापन
- नगरपालिकाको स्वामित्वमा रहेका र सार्वजनिक पर्ति जग्गाहरुको खोजविन गरी तथ्याङ्क राख्ने तथा ती जग्गाहरुको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र बन क्षेत्रका बन्यजन्तु एवं जडिबुटिको उपयोगमा विशेष निति बनाएर लागू गरिने छ।
सभाका सदस्य ज्यूहरु
१७.उद्योग, सहकारी तथा संघ-संस्था
- स्थानीय श्रोत साधन तथा यस क्षेत्रमा पाइने कच्चा पदार्थको प्रशोधन गर्ने घरेलु तथा साना उद्योग, कृषिजन्य, वनजन्य उद्योग स्थापना तथा संचालनलाई प्रोत्साहन गर्ने निति बनाइने छ साथै लघु उद्यम विकासका लागि संघीय सरकार, प्रदेश सरकार संग सहकार्य गर्दै अघि बढिनेछ।
- देउमाई नगरपालिकामा रहेका सम्पूर्ण सहकारीहरुलाई कोपो एम.आई.एस. प्रणालीमा अनिवार्य आवद्ध गराई व्यवस्थित गर्दै लगिनेछ।
- सहकारी तथा संघ-संस्थाहरुको अनुगमन सम्बन्धी कार्यविधि तयार गरि अनुगमन कार्यलाई निरन्तरता दिइनेछ।
- खारेज हुन वा एक अर्कामा गाभिन चाहाने सहकारीहरुका लागि खारेजी वा मर्जरका लागि आवश्यक नीति लिइनेछ।
१८.सुरक्षा
- नगरका सम्पूर्ण जनतालाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- नगरप्रहरीको व्यस्थापन मार्फत शान्ति सुरक्षा थप चुस्त पार्न आवश्यक नीति लिइनेछ।
- प्रत्येक वडामा प्रहरी विटको स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गरिने छ।
१९.अन्य निकाय सँगको सम्बन्ध
- देउमाई नगरपालिकाको छिमेकमा रहेका इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिका सँग सडक सञ्जाल ,पर्यटन विकास, जल उपयोग, बिपद व्यवस्थापन लगायत विविध सामाजिक-आर्थिक क्षेत्रमा समन्वय, सहकार्य तथा साझेदारीका लागि विशेष नीति अवलम्वन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था सँग भगिनि सन्बन्ध जोड्दै अघि बढिने छ।
उपस्थित सभाका सदस्य ज्यूहरु,
प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट उच्चदरको आर्थिक वृद्धिका लागि सामाजिक,आर्थिक क्षेत्र गतिशिल भै आर्थिक वृद्धि र पारस्पारिक सम्मान र अवसर सहित सामाजिक न्याय कायम हुने छ।यस नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग हुने विश्वास लिएको छु।यस नीति र कार्यक्रम प्रस्ताव गर्दा संघ, प्रदेश र स्थानीय श्रोत साधनको परिचालन गरी विकासलाई समावेशी र समन्यायिक बनाउदै जनशक्ति विकास, रोजगारी सृजना र सुशासन कायम गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखिएको छ।अन्तमाः देश भित्र र बाहिर रहनु भएका नगरबासीहरु, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधि, निजि तथा सहकारी क्षेत्र, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासीहरुलाई धन्यवाद दिन चाहान्छु।साथै आपसी एकता सहित समुन्नत देउमाई निर्माणमा एकाकार हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।
धन्यबाद।
सुर्य प्रसाद पोख्रेल
(सभाध्यक्ष)
२०८१-०३-०५