दाङ : दाङको शान्तिनगरमा ट्याक्टर दुर्घटनामा परी चार जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको गम्भीर छ।
घाइते हुनेमा शान्तिनगर गाउँपालिका– २ का ३९ वर्षीय भिमबहादुर बुढाथोकी, ५२ वर्षीय लाटो राना, २३ वर्षीय उमेश भण्डारी र ५१ वर्षीय धनबहादुर भण्डारी छन्।
सोमबार बेलुकी पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका– १ नयाँ बस्तीस्थित गुन्डले खोलामा खिलतपुरबाट अमवातर्फ ढुंगा हालेर जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
थापाका अनुसार टाउको, दुबै हातखुट्टा र छातीमा चोट लागेका धनबहादुर भण्डारीको अवस्था गम्भीर छ। भिमबहादुर बुढाथोकीको टाउकोमा चोट छ भने लाटो राना र उमेश भण्डारीको टाउको, छाती र दुबै हातखुट्टामा चोट छ।
घाइतेहरूलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
ट्र्याक्टरमा सवार ६ जनामध्ये एक जनालाई केही नभएको पनि प्रहरीले जानकारी दिएको छ।
फरार रहेका ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।