इलाम : इलामको चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको नाम नेपाली भाषा (देवनागरी) मा पुन:नामकरण गर्ने भएको छ । यसअघि अङ्ग्रेजी तथा विदेशी भाषामा नामकरण भई सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयले अनिवार्य नेपाली भाषा (देवनागरी) मा नामकरण गर्नुपर्ने निर्णय भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
उनका अनुसार अङ्ग्रेजी तथा विदेशी नाम राखेका संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी पुन:नामकरण गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिका भित्रका सबै संस्थागत विद्यालयले आआफ्नो विद्यालयको नाम एक वर्षभित्रमा नेपालीमा नामकरण गरिसक्नुपर्ने समयसीमा तोकिएको उनले बताए । ‘पछिल्लो गाउँ कार्यपालिका बैठकले अङ्ग्रेजीमा राखिएका संस्थागत विद्यालयको नाम नेपालीमा पुन:नामकरण गर्नुपर्ने निर्णय गरिएको छ,’ अध्यक्ष केरुङले भने, ‘यसको कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गरिनेछ, एक वर्षको म्याद दिएर कार्यान्वयन गरिसक्ने योजनामा छौं ।’
यो निर्णयसँगै चुलाचुलीका सबै संस्थागत विद्यालयले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) बमोजिम नामकरण गर्नुपर्ने भएको हो । सो उपदफामा ‘समाज तथा राष्ट्रका लागि उल्लेखीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्कनेगरी विद्यालयको नामकरण गर्न सकिनेछ’ भन्ने व्यवस्था उल्लेख छ ।
अधिकांश सामुदायिक विद्यालयको नाम नेपाली भाषामा नै हुने गरेको भएपनि संस्थागत विद्यालयको नाम भने अङ्ग्रेजीमा हुने गरेका छन् । चुलाचुलीमा २१ सामुदायिक विद्यालय र सात वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । संस्थागतमध्ये दुई वटा माध्यमिक तहको र पाँचवटा आधारभूत तहको रहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिनुभयो । संस्थागत सबै विद्यालयले आफ्नो नाम परिर्वतन गर्नुपर्ने भएको छ ।
इलामका १० वटा स्थानीय तहमध्ये चुलाचुली गाउँपालिकाले पहिलो पटक यस्तो निर्णय गर्दै कार्यान्वयनमा ल्याउन लागेको हो । नेपालको संविधानको धारा ७ को उपदफा (१) मा भएको देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ ।