इलाममा पर्यटक लोभ्याउने झोलुङ्गे पुल - Nayabulanda.com

इलाममा पर्यटक लोभ्याउने झोलुङ्गे पुल

  नयाँ बुलन्द
126 Shares

sharethis sharing button
इलाम । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका-६ र देउमाई नगरपालिका-६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ । 

इलाम नगरपालिका त्यसै पनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली चियाको १६० वर्षे इतिहास यही नगरपालिकामा छ । नेपालको सबैभन्दा पुरानो कृषि कारखाना अर्थात् चिया उद्योग विसं १९३५ मा स्थापना भएको चिया कारखाना पनि इलाम नगरपालिकामै छ ।

 

अन्य विभिन्न पौराणिक, धार्मिक तथा पुरातात्त्विक ढङ्गले पनि निकै महत्त्व बोकेको इलाम नगरपालिकाले अहिले पर्यटक आकर्षणको निकै प्रयास गरिरहेको छ ।

 

कूल दुई करोड आठ लाख १९ हजार १२० रुपियाँको लागतमा निर्माण सम्झौता भएका पुलको ९० प्रतिशत काम सक्किएको छ । इनपा ६ मा रहेको सेतीदेवी मन्दिर नजिकबाट निर्माण सुरु गरिएको पुलले अहिले निर्माणको अन्तिम चरणमा रहेको इलाम नगरप्रमुख केदार थापाले बताए ।

 

‘यो पुलको सबै काम सक्किएको छ । ‘नगरपालिकाको यो गौरवको आयोजना हो । साँच्चै राम्रो र मनमोहक दृश्यावलोकनका लागि पुल निर्माण भएको सेतीदेवी क्षेत्र अहिले निकै राम्रो भएको छ ।’ प्रमुख थापाले भने ।

 

धार्मिक हिसाबले पनि प्रसिद्ध सेतीदेवीमा दैनिक श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ । पुल निर्माण भएपछि सेतीदेवीको दर्शन गर्दै लामो दूरीको सुन्दर पुल हेर्नका लागि पनि इलाम सदरमुकाम आइपुग्ने पर्यटकहरू त्यहाँसम्म पुग्नसक्ने अपेक्षा नगरले लिएको छ । नगरपालिकाले यो लामो झोलुङ्गे पुलबाट ‘बन्जी जम्प’ का लागि काम गर्ने लक्ष्य लिएको बताइएको छ ।

 

पुल निर्माणहुँदै गर्दा पनि निजीस्तरबाट तीन-चारवटा टोली बन्जी जम्पको अध्ययनका लागि आएका छन् । तर, नगरपालिकाबाट ठोस निर्णय भइनसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार