काठमाडौँ : नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न विभिन्न छ संगठनले माग गरेका छन् । महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुंगो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।
ती संगठनले महासंघ नेतृत्वलाई छिटो सदस्यता टुंगो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरेका छन् । ‘निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै महासंघको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्दाहरूलाई सम्बोधन गर्न सहकार्य गर्दै अघि बढ्ने पनि ती संगठनले जनाएका छन् ।
विज्ञप्तिमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले हस्ताक्षर गरेका छन् ।
