इलाम : इलामको माई नगरपालिकामा रहेको चेप्टी फनपार्कले हडपेको सार्वजनिक जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालय इलामले असहयोग गरेको पाइएको छ ।
फनपार्कले अतिक्रमण गरेको १ सय ७७ रोपनी जग्गा नापजाँचका लागि प्रहरी सहित पुगेको नापी कार्यालयको टोली काम नगरि फर्किएको हो ।
फनपार्कमा रहेका अवैध संरचना हटाई जमिन खाली गराउन अख्तियारकले डेढ बर्ष अघिनै निर्देशन दिएपनि जग्गा यकिन गर्न बिहिवार विहानै सुरक्षाकर्मी सहित डिभिजन वन कार्यालय इलाम र नापी कार्यालयका कर्मचारी चेप्टी फनपार्क पुगेका थिए तर नापजाँच सुरु नगर्दै केही स्थानियले अवरोध गरेपछि नापी कार्यालयका कर्मचारी पछि हटे ।
अवरोध गर्ने स्थानियलाई हटाउन सुरक्षाकर्मीलाई सिडियोले आवश्यक निर्देशन नदिदा सुरक्षाकर्मी रमिते बनेका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आँफु सरुवा भएर जान लागेको भन्दै सुरक्षाकर्मीलाई बल प्रयोग गर्ने आदेश दिन अस्विकार गरेका थिए ।
नापी सहितको टोली जग्गा नापजाँच नगराई फर्किएपछि अख्तियारको निणर्य अझै अलपत्र पर्ने देखिएको छ ।यता डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादुर श्रेष्ठले नयाँ सिडियो इलाम चाँडै आउने र चेप्टी फनपार्कले ओगटेको जमिन खाली गराउने बताए ।
“बुधबार साँझ नै सिडियोको सरुवा भएकोले काम गर्न केही समस्या भयो ,तर हामी जग्गा खाली गराएर छाड्नेछौ ।” श्रेष्ठले भने ।
यो फनपार्कले १ सय ७७ रोपनी सरकारी जग्गा अतिक्रमण गरि करोडौको संरचना निर्माण गरेको छ ।
फनपार्कमा झापाका दिनेश शिवाकोटीको लगानी रहेको छ । उनले माई नगरपालिकाका स्थानियबाट जमिन खरिद गरेको बताउँदै आएका छन् ।