इलामः २५६८ औँ बुद्ध जयन्तीका अवसरमा फाकफोकथुम-१ खाम्बाङस्थित साङ्गे च्योम्दान्दे छ्योईलिंङ्ग गुम्बा शिक्षामा अध्ययनरत विद्यार्थीलाई पोषाक वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिरबहादुर खड्काको अध्यक्षता तथा १ नम्बर वडाकी महिला सदस्य गोमादेवी भट्टराईको प्रमुख आतिथ्यतामा भव्य समारोहको आयोजना गरी बुद्ध जयन्ती मनाइएको हो ।
२०६६ सालमा शुरू भएको यस विद्यालयले स्थापना कालदेखि नै बौद्ध धर्मसंगै सम्बन्धीत हरेक कार्यक्रमहरु गर्दै आएको छ । विभिन्न कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरेसंगै यस वर्ष पनि पोषाक वितरण गरिएको प्रधानध्यापक धनसरी योञ्जन तामाङले जानकारी दिइन् ।
बुद्धका बारेमा जानकारी मुलक सामाग्रीहरु बाचन साथै पुजा पाठ र आराधना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि भट्टराई,अतिथि धन बहादुर तामाङ, दिलबहादुर तामाङ पेले नर्भु शेर्पालगायतले शुभकामना मन्तव्य राखेको समारोहलाई शिक्षिका रस्मा खड्काले स्वागत मन्तव्य राखेकी थिइन् भने शिक्षिका पेन्जुमा तामाङ र पुनम बोहोराले कार्यक्रम संचालन गरेका थिए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका २ ईम्बुङ निवासी दुर्गा प्रसाद तामाङ र मणि तामाङले दुई वर्ष अघि ५८ वर्षको उमेरमा निधन भएका आफ्ना पिता कृष्ण प्रसाद तामाङको स्मृतिमा ३७ जना विद्यार्थीलाई पोषाक उपलब्ध गराएको साथै उक्त परिवारबाट प्रतिनिधि बुहारी पेमा डोल्मा तामाङको उपस्थितिमा प्रमुख अतिथिको हातबाट पोषाक हस्तान्तरण गरिएको छ । यसैबीच दाताहरुले गरेको स्वागत योग्य कार्यको प्रशंसा गर्दै अतिथि र विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।
यस विद्यालयको सात रोपनी जग्गा रहेता पनि हालसम्म बजेट अभावमा खेलमैदान निर्माण गर्न नसकिएको जनाइएको छ । संस्था घेरावारा, भवन तथा कक्षा कोठाको अभाव,व्यवस्थित शौचालय र पिउने पानीको उचित प्रवन्ध नभएको गुम्बा शिक्षाका अध्यक्ष दानबहादुर तामाङले बताए । हाल अध्यक्ष तामाङको विद्यालयसंगै जोडिएको निजी घरमा कक्षा कोठा प्रयोग गर्न दिइएको उनको भनाइ छ । गुम्बा शिक्षासंगै ३ कक्षासम्म पठनपाठन हुँदै गरेको यस विद्यालयमा पाँच जना कार्यरत शिक्षक मार्फत अंग्रेजी माध्यमबाट पढाई हुने गरेको जनाइएको छ ।