इलाम : पौडी खेल्ने क्रममा माईखोलामा डुबेर इलाममा दुई जना बालकको मृत्यू भएको छ ।
आज (बिहीबार) दिउँसो साढे ३ बजे माईखोलामा पौडी खेल्ने क्रममा डुबेर माई नगरपालिका-८ का नौ वर्षीय किस्मन आङदेम्बे र ११ वर्षीय मिङसुहाङ लिम्बूको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आङदेम्बे पानीमा मृत अवस्थामा भेटिएका थिए । लिम्बू भने घाइते अवस्थामा पानीमा फेला पारी स्थानीय माई अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि झापाको बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु अन्य साथीहरुसहित दिउँसो साढे ३ बजे पौडी खेल्न माईखोला गएका थिए । ४ बजेसम्म पनि घर नफर्किएपछि स्थानीय प्रहरी चौकीमा खबर गरी स्थानीयबासीको सहयोगमा खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
मृतकहरुसँग गएका अन्य बालबालिकाहरुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।