पार्टी फुटाएका ७ सांसदविरुद्ध उपेन्द्रले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा

  नयाँ बुलन्द
98 Shares

काठमाडौं : जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

उपेन्द्रले दायर गरेको सो टिर सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । उपेन्द्रले आइतबार रिट हालेका थिए ।

यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो।

प्रधानमन्त्री प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत लिनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार