इलाम : राष्ट्रिय दलित पत्रकार संघ इलामको अध्यक्षमा पुन: बलराम बराइली निर्वाचित भएका छन् ।
शनिबार इलाम सदरमुकाममा सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले बराईलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वचित गरेको हो । बराइली संघको संस्थापक जिल्ला अध्यक्ष हुन् ।
समितिको उपाध्यक्षमा योगेन्द्र शंकर, सचिवमा बिक्रम सुन्दास, सहसचिवमा जमुना परियार र कोषाध्यक्षमा प्रविण बिसी निर्वाचित भएका छन् ।
सदस्यहरुमा सुनिल शंकर, रामकृष्ण परियार, गंगा परियार र जुनु बराईली निर्वाचित भएका छन् ।
अधिवेशनले मनकुमार बराइली र प्रकाश परियारलाई केन्द्रीय पार्षद तथा भीम बविसुङ्खे र अङ्कित बराइलीलाई प्रदेश पार्षदमा निर्वाचित गरेको नवनिर्वाचित अध्यक्ष बराइलीले जानकारी दिए ।
दुई स्व. पत्रकारलाई मरणोपरान्त सम्मान
यसैगरी राष्ट्रिय दलित पत्रकार संघ इलामले दुई स्व. पत्रकारलाई मरणोमरान्त सम्मान गरेको छ । संघले अधिवेशन उद्घाटनको अवसरमा स्व. पत्रकार नवराज शंकर र रेशम बराइलीलाई मरणोपरान्त सम्मान गरेको हो । सञ्चारको क्षेत्रबाट दलित आन्दोलनमा पुर्याउनुभएको योगदानको कदर गर्दै मरणोपरान्त सम्मान गरिएको अध्यक्ष बराइलीले बताए ।
शंकरको २०७८ साल जेठ २ गते र बराइलीको जेठ ४ गते कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको थियो । शंकार तत्कालीन इलाम एफएम र बराइली बिराट टाइम्समा आवद्ध थिए ।
‘नवराज-रेशम स्मृति पत्रकारिता पुरस्कार’ स्थापना
यसैबीच अधिवेशननले ‘नवराज-रेशम स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । दलित समुदायको क्षेत्रमा कलम चलाउने जिल्लाका एक पत्रकारलाई बर्सेनि एक पत्रकारलाई पुरस्कृत गर्ने गरी रु १० हजार राशीको पुरस्कार स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष बराइलीले बताए ।
पुरस्कारका लागि राष्ट्रिय दलित संघ इलामको मातहतमा रहने गरी रु दुई लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरिएको उनले बताए ।
जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्य, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे र संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य गोपाल बराइलीको विशिष्ट आतिथ्यमा अधिवेशन उद्घाटनसत्र सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगू, महासंघ इलाम शाखा सचिव भीम चापागाईं, इलाम नगरपालिका २ का वडाध्यक्ष गिरिराज रिजाल, नेपाल प्रेस युनियनका गणेश घिमिरे, प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष राम योङहाङ, सञ्चारिका समूह अध्यक्ष सिर्जना श्रेष्ठ, दलित आन्दोलनका अगुवा, अधिकारकर्मीलगायतले मन्तव्य राखेका थिए ।
संघ उपाध्यक्ष योगेन्द्र शंकरले सहभागी अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव विक्रम सुन्दासले गरेका थिए ।