इलाम : इलाम उपनिर्वाचनका लागि खटाइएका मतदान कर्मचारीले नियुक्ति पत्र र सामग्री बुझेका छन् । मतदानका लागि खटाइएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझेका हुन् ।

उपनिर्वाचन हुनेमध्ये फाकफोकथुम, माङसेवुङ, चुलाचुली र माइ नगरपालिकामा खटाइएका कर्मचारी सामग्रीसहित आजै मतदान केन्द्रमा प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फुँयालले जानकारी दिए ।
यस्तै इलाम र देउमाइ नगरपालिकामा खटाइएका कर्मचारी भोलि बिहानै आ-आफ्ना मतदान केन्द्र प्रस्थान गर्ने तयारी छ । इलाम २ मा उपनिर्वाचनका लागि ७ सय ४५ कर्मचारी र ३ हजार सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनका लागि जिल्लामा ७९ मतदान स्थल र १ सय ४९ मतदान स्थल छन् ।