इलाम : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको माहोल तातेको छ । नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएसँगै चुनावी गर्मी बढेको हो । आधिकारिक उम्मेदवार बनेसँगै डम्बर खड्काले चुनावी रणनीति बनाएर अभियान सुरु गरेका छन् । खड्काले अघिल्लो पटक भन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन् ।
शुक्रबार साझ इलाममा पत्रकारहरु संगको कुराकानीमा उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए ।
६ जना आकांक्षीलाई पछि पार्दै उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार बनेका खड्काले भने,‘अघिल्लोपटक राष्ट्रियरूपमा स्थापित एमाले नेता सुवासचन्द्र नेम्वाङसँग चुनाव लड्नुपर्दा माहौल फरक थियो ।
अहिले इलामको भूगोल, अवस्थिति र मतदाताको मनोविज्ञान राम्रोसँग नबुझेका कम अनुभवी युवाहरूसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा केही सहज भएको छ,’ उनले अगाडि भने,‘यस पटक कांग्रेसलाई हार्ने छुट छैन ।
मेरो काँधमा पार्टीको भविष्य छ । त्यसैले सबै एकजुट भएर चुनावी अभियानमा सक्रिय बन्नुपर्छ ।’
खड्कालाई सभापति शेरबहादुर देउवाले दोस्रो पटक अवसर दिएका हुन् । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।
यसपटक खड्काले चुनाव जित्न सहज भएको दाबी गर्नुको पछाडि थुप्रै आधारहरु कांग्रेसले प्रस्तुत गरेको छ । विशेषत मुख्य प्रतिस्पर्धी एमालेले राजनीतिमा अनुभव नै नभएका र वंशको राजनीतिबाट उदाएका सुहाङ नेम्बाङलाई इलामेली मतदाताले नचिनेकाले आफूलाई सहज महशुस भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु इलाम नबसेको डेढ दशक नाघिसकेकाले नयाँ उम्मेदवारलाई मतदाताले विश्वास नगर्ने खड्काले दाबी गर्दै आएका छन् ।
त्यति मात्र होइन एमालेबाट उम्मेदवार बनाइएका सुहाङ राजनीतिमा उदाउँदा जिल्लामा दशकौंदेखि दुःख गरेका नेताहरुको राजनीतिक करियरमै धक्का लाग्ने भएकाले एमालेभित्र ठूलो ‘विद्रोह’को खतरा देखिएको कांग्रेसहरुले अनुमान गरेका छन् । त्यस्तै प्रतिस्पर्धी उम्मेदवार सबै आदिवासी जनजाती भएकालो खसआर्य समूदायको अधिकांश मत रुख चिन्हमा खस्ने साथै आदिबासी जनतातीको भोट बाँडिएर आफूतिर आउने खड्काले अनुमान गरेका छन् ।
कांग्रेसले असहज महसुश गरेको चुलाचुली, माई र माङसेबुङ नगरपालिकाको मत यसपाली बृहत रुपमा बाँडिने भएको र कांग्रेसको मत नबिग्रेकाले खड्काले सहज महशुस गरेका छन् । रास्वपाका मिलन लिम्बुले दल परिवर्तन गरेकाले ‘अवसरवादी’को आरोप खेपिरहेको साथै रास्वपाका केन्द्रीय नेताहरु सहकारी कान्ड र भ्रष्टाचारमा मुछिएकाले तल्लो स्तरका जनतामा नकरात्मक सन्देश प्रवाह भइसकेकाले कांग्रेसले सहज परिणाम निकाल्ने अनुमान गरेको छ । विशेषगरी यसपाली धेरै संख्यामा उम्मेदवार, सबै जनजाती उम्मेदवार भएकाले आफ्नो सैद्धान्तिक मतले नै पनि कांग्रेसले राम्रो परिणाम निकाल्ने अनुमान गरिएको छ ।