इलाम : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कति वर्ष राजनीति गर्ने, कति वर्ष जेलमा बस्ने मतलब नभएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचनका लागि उम्मेदवारी सार्वजनिक कार्यक्रममा बोल्दै लामिछानेले राजनीतिमा आएपछि धेरै गाली गलौच, चरित्रहत्याको सामना गरेको बताए ।
उनले आफ्नो जति चरित्र हत्या गरे पनि, चाहे जेल कोचे पनि, चाहे जतिसुकै दुःख दिए पनि देशको संसद्मा योग्य मान्छे लिएर जाने प्रतिबद्धताका साथ इलाम आएको बताए । होनहार मिलन लिम्बु, स्वर्णिम वाग्ले, बिराज श्रेष्ठ जस्ता एकसे एक मान्छेलाई संसद्मा लिएर जाने आफ्नो लक्ष्य भएको उनले बताए ।
चुनावका बेला आश्वासन दिने र केही नगर्ने प्रवृत्तिबाट आजित भएर राजनीतिमा आउन नपर्ने मान्छे लिएर राजनीतिमा आएको उनले बताए । इलाममा पार्टीले अकबरे खुर्सानी जस्तै उम्मेदवार लिएर आएको बताउँदै चुनावपछि संसद्मा अर्को सिट थपिने विश्वास व्यक्त गरे ।