काठमाडौ : थाइल्याण्ड र म्यान्मारको सीमानामा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । लामो समयदेखि थाइ–म्यान्मार सीमा नजिकै म्यान्मारको म्यावङ्कीमा अलपत्र परेका १३ जना नेपालीको उद्धार गरिएको बताइएको छ ।
बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्डको परराष्ट्र मन्त्रालय, इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावास यांगोनसमेतको समन्वयमा उनीहरुलाई नेपाल ल्याइएको जानकारी दिएको छ ।
‘थाइल्याण्ड र म्यान्मार सीमा सीमा नजिक म्यान्मारको म्यावङ्कीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकलाई थाइ परराष्ट्र मन्त्रालय, थाइ इमिग्रेसन ब्युरो र नेपाली राजदूतावास यांगोनसमेतको समन्वयमा यस राजदूतावासले लामो प्रयासपश्चात् म्यान्मारको उक्त क्षेत्रबाट उद्दार गरी नेपाल फिर्ता पठाउने कार्य सम्पन्न गरेको छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाएर थाइ–म्यान्मार सीमा पार गराएपछि थाइल्याण्डको मेइसोटमा ल्याइएको र त्यहाँबाट हवाई उडानमा बैंकक हुँदै आज नेपाल एयरलाइन्सको उडाननम्बर आर ए ४०२ बाट काठमाडौं पठाइएको हो ।