इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा सङ्कलन भएको भेटी गणना गरिँदै । पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ । तस्बिर : नयाँ बुलन्द

इलाम : इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ रुपैयाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि फागुन ३० गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिए ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए । जिन्सी अन्तरगत सुन, चाँदीलगायत विधिन्न धातुहरु सङ्कलन हुने गरेको छ ।

समितिका अनुसार साउनमा चार लाख ४२ हजार पाँच सय ८८ रुपैयाँ नगद र २१ हजार रुपैयाँ बराबरको जिन्सी, भदौमा सात लाख ५६ हजार एक सय ७४ रुपैयाँ नगद र ६९ हजार चार सय रुपैयाँ बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ रुपैयाँ नगद र ६७ हजार नौ सय रुपैयाँ बराबरको जिन्सी र कात्तकिमा २१ लाख १० हजार चार सय ७५ रुपैयाँ नगद र ५९ हजार नौ सय रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको छ ।

त्यस्तै, मङ्सिरमा १८ लाख ३२ हजार पाँच सय ५७ रुपैयाँ नगद र ६८ हजार आठ सय रुपैयाँ बराबरको जिन्सी, पुसमा १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय रुपैयाँ बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार पाँच सय ३५ रुपैयाँ नगद र २८ हजार दुई सय रुपैयाँ बराबरको जिन्सी र फागुनमा १४ लाख ५५ हजार दुई सय ४३ रुपैयाँ नगद र एक लाख २१ हजार नौ सय आठ रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको छ ।

पाथीभरा मन्दिरमा संकलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास) ले बताए । ‘भक्तजनहरुको सहयोग सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैं दृढ छ’ अध्यक्ष स्याङ्बोले भने, ‘हामी सधैं पारदर्शीता र सुशासनको पक्षमा छौं, मन्दिरबाट सङ्कलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं ।’

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । रोङ गाउँपालिकाले ऐन बनाएर मन्दिरको संचालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याईएको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याईएको हो ।

गतवर्ष फागुनदेखि असारसम्म ९२ लाख ९५ हजार तीन सय ६२ भेटी सङ्कलन भएको थियो । सो अवधिमा ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी सङ्कलन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार