इलाम : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ ।
इलाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले दिएको जानकारीअनुसार बैठकले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । आचार्य महासमिति सदस्य हुन् । सभापति इदिंगोका अनुसार दोस्रो नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरिएको छ ।
यस्तै, क्रमश जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस भएको छ । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ । “यी नामहरूमा जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्नेछ,” उनले भने, “पहिलो नम्बरमा नेता भेषराज आचार्यको नाम हामीले सिफारिस गरेर पठाएका छौँ ।”
इलाम-२ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । २०७९ को निर्वाचनमा सो क्षेत्रबाट एमालेबाट निर्वाचित नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आयोगले चैत २४ गते उम्मेद्वारी दर्ताको मिति तोकेको छ । उपनिर्वाचनका लागि इलाममा २० वटा दलले दल दर्ता गराएका छन् ।