इलाम-२ उपनिर्वाचन : दलहरुलाई उम्मेद्वार छान्न सकस

इलाम : आउँदो वैसाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन नजिकिएसँगै इलाम-२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् ।

गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

वि.स. २०५६ सालदेखिका सबै निर्वाचन जित्दै आएको नेकपा एमाले र अघिल्लो निर्वाचनमा एक सय १४ मतले मात्र पराजित कांग्रेसले उपनिर्वाचनलाई विशेष प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप एमाले र कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी केन्द्रलगायत दलका आकाङ्क्षीहरु टिकट ल्याउने दौडधुमा लागेका छन् । स्वतन्त्र उम्मेद्वारहरुले भने उम्मेद्वार घोषणा नै गरिसकेका छन् ।

एमालेका छ जनाले उम्मेद्वार सिफारिसका लागि कार्यदलमा निवेदन दिएका छन् । स्व. सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङसहित उपसचिव रविन्द्र सुवेदी, जिल्ला सदस्य डा. देवी क्षेत्री दुलाल, इलाम-२ क्षेत्रीय संयोजक बुद्धि खनाल, गत स्थानीय तह निर्वाचनमा इलाम नगर प्रमुखको टिकट पाएर पनि खोसिएका नरेन्द्रनाथ भट्टराई र प्रदेश सदस्य रिपल राईले उम्मेद्वार सिफारिसका लागि कार्यदलमा निवेदन दिएको कार्यदल सचिव उमेश गुरुङले जानकारी दिए ।

कार्यदलले सर्वसम्मतको प्रयास गर्ने र सम्भव नभए जिल्ला कमिटीले सबैको नाम केन्द्रीय कमिटीमा पठाइने सचिव गुरुङले बताए । ‘हामी चैत ३ गते सर्वसम्मतका लागि प्रयास गर्छौं, सम्भव भएन भने जिल्ला कमिटीमा पठाउँछौं, जिल्ला कमिटीले चैत ५ गतेसम्म सबैको नाम केन्द्रीय कमिटीमा पठाउनेछ,’ गुरुङले भने, ‘केन्द्रले जसलाई टिकट दिएपनि पार्टीको उम्मेद्वार हुन्छ ।’

एमालेले उम्मेद्वारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे र दिपकिशोर लिङदम रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले उम्मेद्वार हुन इच्छुकले आफ्नो व्यक्तिगत विवरसहित कार्यदलमा इच्छा जाहेर गर्न माग गरेपछि छ जनाको आवेदन परेको सचिव गुरुङले बताए ।

एमाले केन्द्रीय कमिटीले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशन (अपानी) मा उम्मेद्वारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ ।

उता गएको निर्वाचनमा एक सय १४ को झिनो मतान्तरले मात्र पराजित कांग्रेसबाट पनि उम्मेद्वार आकाङ्क्षीको लर्को छ । जिल्ला सभापति डम्बरबहादुर खड्का, महाधिवेशन प्रतिनिधि भेषराज आचार्ष, पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसंविधानसभा सदस्य नगेन्द्र कुमालले दावी गर्दै आएका छन् । खड्का २०७९ को प्रतिनिधि सभा सदस्यमा सोही क्षेत्रबाट एमालेका नेम्बाङसँग एक सय १४ मतले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजा नौ सय छ मत पाएका थिए ।

माओवादी केन्द्रले पनि यसपटक एक्लै चुनाव लड्ने रणनीतिमा छ । गएको निर्वाचनमा गठबन्धन गरेर कांग्रेलाई सघाएको माओवादीले यसपटक कसैसँग गठबन्धन नगर्ने निणर्य प्रदेश समितिले गरिसेकेको जनाएको छ । तर, पछिल्लो नयाँ सत्तासमीकरणले के गर्छ भन्ने टुङ्गो लागेको छैन । माओवादीबाट केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य धिरेन्द्र शर्मा (रमन), पार्टी प्रदेश सदस्य हर्कबहादुर लावती र जिल्ला संयोजक विजय खम्बूको नाम चर्चामा छ । यद्धपी, माओवादीले आधिकारीक रुपमा उम्मेद्वार घोषणा र सिफारिस भने गरेको छैन ।

जनता समाजवादी पार्टी नेपालले तीन जनाको नाम सिफारिस गरेको छ । जसपाका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई उम्मेद्वारका लागि सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले छ जनाको नाम सर्टलिस्टमा राखेको चर्चामा आएपनि सार्वजनिक भएको छैन । सो पार्टीले स्थानीय उम्मेद्वारलाई नै प्राथिमिकता दिने जनाएको छ । रास्वपाबाट धर्म गौतम, महेन्द्र थापा, विष्णु काफ्लेको नाम चर्चामा छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा छ । उनी गत निर्वाचनमा इलाम-१ बाट एमालेका महेश बस्नेतसँग दुई हजार छ सय ४५ मतान्तरले पराजित भएका थिए । साथै प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने निणर्य गरिसकेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेद्वारको रुपमा पत्रकार मिलन लिम्बूले घोषणा गरिसकेका छन् । सोही क्षेत्र माङसेबुङ गाउँपालिका-२ का स्थायी बसोबास रहेका उनी काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव लिम्बू दृष्टिन्युजका सम्पादक छन् ।

यस्तो थियो, २०७९ को निर्वाचनमा समानुपातिक मतपरिणाम

२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा इलाम-२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकोमा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाच सय ९६ मत बदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाईजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो ।

अघिल्लो निर्वाचनमा पार्टीले पाएको मतपरिणामाई विश्लेषण गर्ने हो भने एमालेका लागि उपनिर्वाचन जित्न सहज देखिछ । तर, पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा पहिचानवादीको साझा उम्मेद्वार र अन्य स्वतन्त्र उम्मेद्वारका कारण एमालेलाई पनि यो निर्वाचन जित्न फलामको चिउरा चपाउन झैं लाग्न सक्छ ।

उपनिर्वाचनको तयारीमा निर्वाचन कार्यालय

यता जिल्ला निर्वाचन कार्यालय इलाम पनि उपनिर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरु यसअघि नै सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँएलले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार उपनिर्वाचनका लागि फागुन २४ देखि ३० गतेसम्मका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिसकेको छ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

कार्यतालिका अनुसार उम्मेद्वारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । सोही दिन उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्यतालिका छ । चैत २५ गते उम्मेद्वारको विरोधमा उजुरी तथा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी जाँच गर्ने र २६ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, चैत २७ गते उम्मेद्वारको नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको फुँएलले बताए ।

चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारको अवधि राखिएको छ भने वैशाख १५ गते विहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी फुँएलले बताए ।

उपनिर्वाचनका लागि इलामको मतदाता दुई लाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्णबहादुर लिम्बूले जानकारी दिए । लिम्बूकाका अनुसार महिला एक लाख नौ हजार नौ सय ३४, पुरुष एक लाख १७ हजार ७९ र अन्य दुई जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार