काठमाडौं : नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस र आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आक्रोश पोखेका छन् । राष्ट्रियसभा अध्यक्ष पदका लागि हुने निर्वाचन नजिकिएका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेतासमेत रहेका सिटौलासहित नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धोकाधडीको राजनीतिक सजिलै नटुंगिने चेतावनी दिए । आइतबार बिहान पार्टी महामन्त्री गगनकुमार थापा, पार्टीका संसदीय दल प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर प्रचण्डसँग भेट गरेका सिटौलाले ‘यो धोकाधडी त्यसै नटुंगिने’ भन्दै प्रचण्डलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग सिटौला, महामन्त्री थापा र प्रमुख सचेतक लेखकले करिब आधा घण्टा छलफल गरेका थिए ।
सुरुमा महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई ‘प्रधानमन्त्रीलाई भेट्नभन्दा पनि अस्तिसम्म गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्षलाई भेट्न आएको’ भनेका थिए । सिटौलाले भने कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन माओवादीले नमानेका कुरादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्डसँग कुरा गरे । निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका नेता सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘तपाईंले मलाई राष्ट्रियसभा अध्यक्ष बनाउँछु भन्ने वचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ । तपाईंले कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो ।’
कांग्रेसका पूर्व-महामन्त्रीसमेत रहनुभएका सिटौला यत्तिमै रोकिएनन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिएको प्रसंग उठाउँदै सिटौलाले भने, ‘म तपाईंलाई चुनाव लड्दासम्मको गठबन्धनको नेकपा माओवादी केन्द्रको अध्यक्षको हैसियतमा भेट्न आएको हुँ । तपाईंले गिरिजा प्रसादलाई त्यसबेला दिएको धोकासँगै मलाई अहिले पार्टीगतसँगै व्यक्तिगत रूपमा दिएको धोका सम्झाउन आएको हुँ । तपाईं त्यसबेला गिरिजा बाबुलाई दिएको धोकाका कारण पश्चात्ताप गरेको नाटक गरिरहनु भएको थियो । तर, त्यो पश्चात्ताप होइन, नाटक रहेछ ।’
प्रधानमन्त्री प्रचण्डले भने सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन आफू सकारात्मक भए पनि पार्टीका साथीहरू नमानेको प्रतिक्रिया दिँदै भन्नुभयो, ‘म त सकारात्मक थिएँ नि, साथीहरूले मान्दै मानेनन् ।’ गत फागुन १७ गते पनि सिटौला र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । उक्त भेटबारे पनि सिटौलाले स्मरण गराउँदै भन्नुभयो, ‘त्यसदिन राष्ट्रियसभा अध्यक्ष माओवादीले नै राख्ने हल्ला छ के हो ? भन्दा तपाईंले होइन भन्नुभयो । तपाईंलाई नै कोसिस गर्दै छु भन्नुभएको थियो, तर दुई दिनपछि गठबन्धन नै फेर्नुभयो । फागुन २० मा हामी फेरि भेट्ने कुरा थियो, तर गठबन्धन नै भत्काउनुभयो ।’ प्रधानमन्त्री प्रचण्डले सिटौलासहित कांग्रेसका नेताहरूलाई शान्ति प्रक्रियादेखि बाँकी काममा सँगै रहने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘मैले पटक–पटक राम्रोसँग अगाडि बढौँ भनेर कुरा गरेँ । एउटा मन्त्री फेरौँ भन्दा पनि भएन, प्रभावकारी काम गरौँ भन्दा पनि भएन, एक्कासि आएर गठबन्धन नगर्ने नीति लिनुभयो, अनि हामीलाई आतंककारी घोषणा गर्ने बेलाजस्तो गरी महासमितिको प्रतिवेदन बनाउनुभयो ।’
कांग्रेस नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भोलिका दिनमा सहकार्य हुने भन्दै यत्तिकै सम्बन्ध सबै टुंगिएको हो भनेर नसोचिदिन आग्रह गरे । तर, छलफलबाट निस्कने बेलामा सिटौलाले थप चेतावनी दिँदै भने, ‘राष्ट्रिय सभाको विषय ल्याएर तपाईंले मलाई जसरी विश्वासघात गर्नुभयो, यो कुरा यसरी नै सजिलै टुंगिन्छ भन्ने नठान्नुहोला । नेपाली कांग्रेस र मलाई दिएको यो धोकाधडी त्यति सजिलै जान्छ भन्ने नठान्नुहोला । तपाईं पछुताउनुपर्छ ।’हिटा बाट