कपिलवस्तु, 114 औ अन्तरास्ट्रिय महिला दिवसका अवसरमा कलिवस्त जिल्लाका महिला अगुवा तथा अधिकारकर्मीहरुले सरकारी तथा गैरसरकारी कार्यालय र सार्वजनिक स्थल एवं निकायमा स्तनपान कक्षको अनिवार्य व्यवस्थाको माग गर्दै दिवस मनाएका छन् ।
स्तनपान संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष अगष्ट १ देखि अगष्ट ७ सम्म संसारभर ‘विश्व स्तनपान सप्ताह’ मनाउने गरिएता पनि अधिकांस सरकारी तथा गैरसरकारी निकायहरुमा स्तनपान कक्षको उचित ब्यबस्थापन हुन सकिरहेको छैन। जिल्लाका केही सरकारी तथा गैरसरकारी कार्यालयमा महिलाहरुका लागि स्तनपान कक्षको व्यवस्था गरिएता पनि अधिकांश स्थानमा स्तनपान कक्षको व्यवस्था नभएको प्रति गुनासो व्यक्त गरेका छन ।
कालिका स्वावलम्वन सामाजिक केन्द्र, किड्स नेपाल, नेपाल ग्रामीण पुर्ननिर्माण संस्था दलित समाजिक विकास केन्द्र, साथी संस्था, पिस नेपाल , जिल्ला समन्वय समिति लगायतका संस्थाहरुको सहकार्यमा गैरसरकारी संस्था महासंघले 114 औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला अगुवाहरुले महिलाहरुले समाजमा भोग्दै आएका बाल बिबाह, दाइजो प्रथा, लैङ्िगक विभेद , समाजमा भएका कुरिती,आदि समस्याहरुमा छलफल गरेका थिए ।
कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेयले ” कानुनमा महिलाहरुलाई समान अधिकार होईन विशेष अधिकारको व्यवस्था गरिएको र त्यसलाई व्यवहारमा पूर्ण रुपमा लागू गर्न महिला पुरुष सवै एक भएर लाग्नु पर्नेमा” जोड दिए ।
गैरसरकारी का महिलाहरु द्रारा उठान भएको स्तनपान कक्षको व्यवस्थापनका विषयमा कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले “आफुले सवै सरकारी तथा गैरसरकारी निकायमा व्यवस्थित स्तनपान कक्ष स्थापनाका लागि विशेष पहल गर्ने ” प्रतिवद्धता “जनाएका छन् ।
उक्त कार्यक्रममा उषा थापाले सरकारी तथा गैर सरकारी कार्यालयहरुमा स्तनपान कक्ष रहे नरहेको अबलोकन प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । उक्त अबलोकनबाट कपिलवस्तुका अधिकाङ्श सरकारी तथा गैरसरकारी कार्यालयहरुमा स्तनपान कक्ष नभएको प्रती चिन्ता ब्यक्त गरेकी छिन ।
उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताले स्थानीय सरकारमा महिला जनप्रतिनिधीहरुले आफुले पाएको अधिकार पाएता पनि खासै प्रयोग गर्न भने नपाएको प्रति आपत्ति जनाएकी थिईन। यसका लागि आम सर्वसाधारणको आफुहरुलाई सहयोग र स्थानीय निकायमा दबाबको जरुरी रहेको उनले बताईन् ।
उक्त कार्यक्रममा शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरीले “महिलाहरुले नै महिला माथि शोषण गरेका कारण पनि महिला अधिकार स्थापित हुन नसकेको बताए । शिक्षामा जोड दिन सके, सवै नागरिकलाई शिक्षित बनाउन सके विस्तारै महिला अधिकार स्थापित हुदै जानेमा “गाउंपालिका प्रमुख चौधरीले जोड दिए ।
कार्यक्रममा कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विपिन जयसवालले ” दिन प्रतिदिन लिंग पहिचान गरी कानुन विपरित भ्रुण हत्या हुने घटना बढ्दै गएको बताए । यस तर्फ महिला अगुवाहरुले सचेतना जगाई भ्रुण हत्या नियन्त्रणमा विशेष जोड दिन जरुरी छ”डा. जयसवालले भने ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल प्रेस यूनियनका अध्यक्ष खग प्रसाद चापागाई, गैससका पुर्व अध्यक्ष प्रवीण कुमार श्रीवास्तव, नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाकी प्रमिशा घिमिरे, दलित सामाजिक विकास केन्द्रकी संगीता चौरसिया, नारी शिल्पकला केन्द्रकी वसन्त कुमारी सिंह, एचकेआईका जिल्ला संयोजक निरज गिरी लगायतले महिला अधिकारका विविध पक्षमा आफ्ना धारणाहरु राखेका थिए ।
गैरसरकारी महासंघका अध्यक्ष जय प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राम शरण रैदास र स्वागत मन्तब्य विमला पौडेलले गरेका थिए । सोहि अवसरमा जिल्लामा उत्कृष्ट काम गरेका ६ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको छ। ।