इलाम : जिल्ला निर्वाचन कार्यालय इलाम आगामी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनको तयारीमा जुटेको छ । आज (बुधबार) जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी इलाम-२ को उपनिर्वाचनको तयारीमा जुटेको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरुले निष्पक्ष र धाँदलीरहित निर्वाचनमा प्रतिवद्धता जनाएका छन् । निर्वाचनको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्वाचन कार्यालयलाई सरोकारवालाहरुले सुझाएका छन् ।
‘निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरी कसैले काम गर्नु हुँदैन’ जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले भने, ‘आवश्यक समन्वय र सहकार्यमा निर्वाचन सफल बनाउन हामी सबैको दायित्व हो, त्यसैले सबैले निर्वाचन कार्यालयलाई सहयोग गरौं ।’
निर्वाचन कार्यालयले मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरु यसअघि नै सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँएलले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार उपनिर्वाचनका लागि फागुन २४ देखि ३० गतेसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
कार्यतालिका अनुसार उम्मेद्वारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । सोही दिन उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्यतालिका छ । चैत २५ गते उम्मेद्वारको विरोधमा उजुरी तथा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी जाँच गर्ने र २६ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, चैत २७ गते उम्मेद्वारको नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको फुँएलले बताए ।
चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारको अवधि राखिएको छ भने वैशाख १५ गते विहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम-२ मा उपनिर्वाच हुन लागेको हो । गतवर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्का विरुद्ध एक सय १४ मतको झिनो अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।
उपनिर्वाचनक लागि ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी फुँएलले बताउनुभयो । उपनिर्वाचन २०८० वैशाख १० गते भएको निर्वाचन अनुसार इलामको कुल मतदाता दुई लाख २५ हजार ८० रहेका छन् ।
इलाम-२ को मात्र मतदाता एक लाख १५ हजार चार सय ६७ रहेका छन् । जसमध्ये ५८ हजार आठ सय ५१ पुरुष, ५६ हजार छ सय १४ महिला र दुई जना अन्य मतदाता रहेको निर्वाचन आयोगको अभिलेखमा उल्लेख छ ।