इलाम : इलामको माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले पत्रकारिता क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । राज्यको चौथो अङ्गको रुपमा मानिएको पत्रकारिता क्षेत्र जिम्मेवार बने समाज रुपान्तरणमा सहयोग मिल्ने बताए ।
माइजोगमाई गाउँपालिकाको नयाँबजारमा सोमबार सकिएको चार दिने खोज पत्रकारिता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थेवेले काम गर्ने क्रममा कतिपय कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सकरात्मक रुवमा सम्प्रेषण गर्न पत्रकारहरुलाई अनुरोध गरे ।
माईजोगमाई गाउँपालिकामा भइरहेका पछिल्ला विभिन्न काण्डका विषयमा आएका समाचार र टिप्पणीप्रति लक्षित गर्दै अध्यक्ष थेवेले गुनासो समेत गरे । केही महिना अघि माईजोगमाई गाउँपालिकाले निर्माण गरेको ‘बेवारिसे शिशु व्यवस्थापन सम्बन्धी कार्यविधि २०८०’ को कमजोरीका विषयमा आएका टिप्पणीप्रति गुनासो गर्दै त्यस्ता कमजोरी बाहिर नल्याउन अनुरोध गरे । ‘काम गर्दै जाँदा कहिलेकाँही कमजोरी हुन्छ, त्यसलाई सार्वजनिक गरिहाल्नु भन्दा पनि फोन गरेर सुझाव दिदाँ राम्रो हुन्छ’ उनले भने ।
माईजोगमाई गाउँपालिकाले २०८० माघ १६ गते आफ्नो वेवसाइटमा सार्वजनिक गरेको ‘बेवारिसे शिशु व्यवस्थापन सम्बन्धी कार्यविधि २०८०’ अनुसूचि ३ मा गम्भीर त्रुटी फेला परेपछि त्यसको स्कृनसट सार्वजनिक भएको थियो । कार्यविधिको अनुसूचिमा ‘सर्लाही’, ‘बेवारिसे शिशु व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ जस्ता त्रुटीहरु फेला परेको थियो । कार्यविधि बनाउँदा कपी पेस्ट गरी लापारवाही भएको भन्दै गाउँपालिकाको तीव्र आलोचना भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रविना राईले माईजोगमाईले गरेका धेरै राम्रा कामहरु भएपनि ओझेलमा परेकाले बाहिर ल्याएर सहयोग गर्न पत्रकारहरुलाई अनुरोध गरिन् । उनले माईजोगमाई पर्यटकीय हिसाबले समेत अब्बल रहेको उल्लेख गर्दै पर्यटन विकासमा समेत पत्रकारिता क्षेत्रबाट योगदान गर्न अनुरोध गरिन् ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले पुरानो प्रवृत्तिको पत्रकारिताले बाँच्न कठिन भएको भन्दै समयअनुकुल आफूलाई दक्ष बनाउँदै व्यवासायिक बन्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका सचिव भीम चापागाईंले पत्रकारहरुको जिम्मेवारी नै सूचना र समाचार बाहिर ल्याएर सचेत गराउने भएकाले कुनैपनि सूचना र समाचार बाहिर आउँदा कसैले गुनासो गर्न नहुने बताए । उनले त्यसबाट सच्चिनै मौका मिल्ने भएकाले सकरात्मक रुपमा ग्रहण गर्न अनुरोध गरे ।
११ फागुनदेखि सञ्चालित तालिममा झापा, इलाम र पाँचथरका ३५ जना पत्रकारहरुको सहभागिता थियो । तालिमका सहभागीहरुलाई खोज पत्रकारिता केन्द्रका पूर्व अध्यक्ष एवम् अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले सहजीकरण गरेका थिए । तालिमको अन्तिम दिन माइजोगमाई गाउँपालिकाको थुम्के, जौबारी, तुम्लिङ, मेग्मालगायतका क्षेत्रको स्थलगत अवलोकन समेत गराइएको थियो ।
माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्ररका महासंघ इलामले आयोजना गरेको थियो ।