फाकफोकथुममा आजदेखि ‘ज्ञानदिलदास साहित्यिक सम्मेलन’ हुँदै

इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा आजदेखि प्रथम ‘ज्ञानदिलदास साहित्यिक सम्मेलन’ आयोजना हुँदैछ । सन्तकवि ज्ञानदिलदास साहित्यिक सम्मेलन मूल समारोह समितिको आयोजनामा फाकफोकथुम गाउँपालिका-३ आमचोकस्थित जोरधारामा दुई दिने महोत्वस आयोजना गर्न लागेको हो ।

ज्ञानदिलदासको जन्मभूमि ‘आमचोक’ को पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गरेको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको फाकफोकथुम गाउँपालिका दिपेन्द्र खनालले बताए ।

शनिबारसम्म सञ्चालन हुने सम्मेलनको पहिलो दिन ज्ञानदिलदासको नाममा स्थापित मन्दिरको उद्घाटन, ज्ञानदिलदासको सालिक अनावरण र ज्ञानदिल दासबारे भारतको सिक्किमका अन्वेशक ‘वीर बलिभद्र कार्की डोली’ ले सङ्कलन गरेको पुस्तक सार्वजनिक हुनेछ ।

त्यस्तै, दोस्रो दिन ज्ञानदिलदासको जीवनी र उहाँको बहुआयमिक व्यक्तित्वको बारेमा प्राज्ञिक बहस हुनेछ । ज्ञानदिल दासको जीवनी सम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पाणीसहित प्राज्ञिक बहस र छलफल गरिने मूल समारोह समितिका अध्यक्ष गुरुभक्त लामिछानेले बताए ।

ज्ञानदिल दास जोसमनी धार्मिक-आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म १८७८ मा फाकफोकथुम-३ आमचोक जोरधारमा लामिछाने उपाध्यया ब्राह्मण परिवारमा भएको थियो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्ण प्रारम्भिक शिक्षादीक्षा घरमा नै कुरुकुलीन पद्धतिबाट भएको थियो । जब उहाँ पाँचथर नाँगीनस्थित जरिङ्गो गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए, तब उहाँको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त-साहित्यका प्रकाण्ड विद्वान थिए ।उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्तिक २५ भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार