इलाम : इलामको देउमाई नगरपालिका-७ स्थित सिद्धिथुम्कामा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ।
खान्द्रुङ माध्यमिक विद्यालयले ६७ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको शिविरबाट दुई सय पाँच जना बिरामी लाभान्वित भएका छन् । शिविरमा ओमसाई पाथीभरा हस्पिटल भन्द्रपुर झापाका स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियन, दन्त रोग विशेषज्ञ डाक्टरहरुले बिरामीको जाँच गर्नुका साथै औपधि वितरण गरेको थियो ।
गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा धेरै बिरामीलाई आफ्नो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रधानाध्यापक काजीमान येक्तेनले जानकारी दिए ।
यस्तै वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समेत भएको छ । रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ।
आइतबार सुनिता थेगिम, रगुन गुरुङ, राजेश चाम्लिङ, देवी गौतम, कोमल निरौला र रामवीर लिम्बूको साँगीतिक प्रस्तुति रहने कार्यक्रम छ । कार्यक्रमको समापन देउमाई नगरपालिका प्रमुख सुर्यप्रसाद पोख्रेल गर्ने तय गरिएको प्रधानाध्यापक येक्तेनले जानकारी दिए ।