चुलाचुली गाउँपालिकाको शैक्षिक संरचनामा ६ करोड बढी लगानी

इलाम : चुलाचुली गाउँपालिकाको शैक्षिक क्षेत्र सुधार गर्नका लागि जनप्रतिनिधि र कर्मचारी तल्लीन छन् । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको छ । शैक्षिक सुधारका लागि पछिल्लो दुई वर्षमा छ करोड बढीको विभिन्न शैक्षिक संरचनाहरु तयार भएका छन् । गाउँपालिकाका सात वटा विद्यालयमा पक्की भवन निर्माण सम्पन्न गरिएको छ भने दुई वटाको निर्माण सम्पन्नको चरणमा रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

उनका अनुसार चुलाचुली गाउँपालिका वडा नं. १ कमलस्थित जनता माध्यमिक विद्यालयमा रु ५० लाखको चार कोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । वडा नं. ३ स्थित किरातेश्वर माध्यमिक विद्यालयमा रु २५ लाखमा दुई कोठे भवन र वडा नं. ४ स्थित बालज्योति माध्यमिक विद्यालयमा रु ३६ लाखमा चार कोठे भवन निर्माण सम्पन्न भएको छ ।

वडा नं. ५ स्थित भानु माध्यमिक विद्यालयमा रु १८ लाखमा दुई कोठे भवन निमर्ण भएको छ । त्यस्तै, वडा नं. ६ फुङनामस्थित राष्ट्रप्रेमी माध्यमिक विद्यालयमा रु ५० लाखमा चारकोठे भवन निर्माण भएको छ । सोही वडाको दशमीस्थित मिक्लाजुङ माध्यमिक विद्यालयमा रु २५ लाखमा दुई कोठे भवन र तोरीबारीस्थित गीताञ्जली माविमा रु १८ लाखमा दुई कोठे भवन निर्माण सम्पन्न भएको अध्यक्ष केरुङले बताए ।

त्यस्तै, वडा नं. २ बाह्रगोठेस्थित जनता माध्यमिक विद्यालयमा रु एक करोड ५० लाखमा सुविधासम्पन्न नमुना विद्यालय भवन निर्माण भइरहेको छ । सोही वडाको पञ्चकन्या माध्यमिक विद्यालयमा समेत रु दुई करोड ४० लाखमा बहुतले भवन निर्माणाधीन छ ।

चुलाचुली गाउँपालिकाले सबै सरकारी विद्यालयमा विद्युतीकरण गरी इन्टरनेट, प्राविधिक शिक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय निर्माण र कम्प्युटर शिक्षाजस्ता कार्यक्रम लागू गरेको छ । वडा नं. ६ फुङनामस्थित राष्ट्रप्रेमी माध्यमिक विद्यालयमा रु ६ लाख ५० हजारमा पुस्तकालय स्थापना गरेको छ । त्यस्तै वडा नं. ४ आइतबारेस्थित बालज्योती माध्यमिक विद्यालयमा रु छ लाख ५० हजारमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।

त्यस्तै, विद्यालयको भवन मर्मतसम्भार, कार्यालय व्यवस्थापन, बाल कक्षा व्यवस्थापनलगायतका नियमित काम सबै विद्यालयमा भइरहेको शिक्षा शाखा प्रमुख राम मिश्रले बताए।

वडा नं २ स्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा (सिभिल इन्जिनियरिङ) को पढाई भइरहेको छ । स्थानीयस्तरमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षाको पढाई सुरु गरिएको प्रधानाध्यापक लक्ष्मीश्वेरप्रसाद बनबरिया यादवले बताए । सो विद्यालयमा सिभिल इन्जिनियरिङका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छ ।

सो विद्यालयलाई गाउँपालिकाले स्कूल बस उपलब्ध गराएको छ । रु ४१ लाख ६९ हजारमा स्कूलबस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । ‘‘हामी सरकारी विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने अभियानमा जुटेका छौँ’’ अध्यक्ष केरुङले भने, ‘‘सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीसहित अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’’

गाउँपालिकाबाट विद्यालयलाई स्कूल बस प्राप्त भएपनि सम्पूर्ण सञ्चालनको जिम्मा विद्यालयले नै लिएर सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताए । बसको सुविधाले छिमेकी जिल्ला झापाको दमक, केर्खालगायत क्षेत्रबाट आउने विद्यार्थीसमेत लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ कोशी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायत जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर बिहान कक्षा लिन चुलाचुली आउने गर्दछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार