इलाम : इलामको हेरिटेज नेसनल एकेडेमी बिध्यालयमा विपद् व्यवस्थापन तथा प्रतिकार्य सचेतना कार्यक्रम सम्बन्धि नमूना अभियास गरिएको छ ।
शुक्रबार बिध्यालयको खेलमैदानमा विभिन्न कारणबाट हुनसक्ने आगलागी र भुकम्प आउँदा अपनाउन सकिने सुरक्षात्मक उपाय र भुकम्प तथा आगलागीका घटना पक्षात हुने घाईतेहरुको वर्गीकरण गरि छिटो भन्दा घिटो प्राथमिक उपचार सहित आकस्मिक उद्दार सम्बन्धी कक्षा तथा नमुना अभ्यास संचालन गरिएको हो ।
अभ्यासको दौरान दैनिक जिवनमा प्रयोग गरिने ग्याँस सिलिण्डरमा आगलागी भएमा कसरी सुरक्षित रहने र उक्त आगलागीलाई नियन्त्रण गर्ने विषयमा समेत नमुना अभ्यास (Demonstration) देखाईएको थियो ।
हाल सुख्खा मौषमको समयमा हुने आगलागी र आपतकालिन यस्ता घटनाहरुवाट हुन सक्ने जोखिम र संभावित दुर्घटनावाट हुने क्षति कम गराउने उद्देश्यले अभ्यास संचालन गरिएको हो ।
अभ्यासको क्रममा रणशार्दूल गण इलामबाट अधिकृतको कमाण्डमा खट्टिएको ४५ जनाको टोलीले अग्नी नियन्त्रण, भुकम्प आउदा अपनाउनु पर्ने सुरक्षा, घाईतेको उद्दार लगायतको भुमिका प्रदर्शन गरेका थिए ।
उक्त अभ्यासको दौरान श्री रणशार्दूल गणका गणपति प्रमुख सेनानी प्रल्हाद घले, उक्त विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा विद्यार्थी र स्थानिय बासिन्दाहरु गरि करिव ६ सय पचास जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापकले नेपाली सेनाबाट प्रस्तुत गरिएको सचेतनामुलक कार्यक्रम अति नै उपयोगी र प्रशंसनिय रहेको भन्दै खुलेर प्रशंसा गरे ।
नेपाली सेनाबाट संचालन गरिने यस्ता कार्यक्रमहरुले नागरिक-सौनक सम्बन्ध सुधारमा समेत टेवा पुग्ने बिश्वास गरिएको छ ।