धर्मगुरुआमा पवित्रहाङमा लिङ्देनको ६८ औं जन्मोत्सव मनाइँदै

माङसेबुङ : किरात धर्मगसुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६८ औं जन्मोत्सव तथा धर्मगुरु आत्मानन्द लिङदेन नुमाङगेन्ना सेवा समारोह आज माङसेबुङमा मनाइँदैछ ।

किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङ गाउँपालिका-५ माङसेबुङमा विगतका वर्ष झैं विहीबार भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको मूल समारोहले जनाएको छ ।

समारोहमा धर्मगुरु लिङ्देनबाट आशीर्वचन, नुमाङगेन्ना सेवा, अभिनन्दन, मिक्तोक अर्पण साथै पवित्रहाङमा कपको पुरस्कार वितरण कार्यक्रम हुने मूल समारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

फागुन १ गते साक्मुरा वादेम्मा, शुक्रबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

त्यसैगरी जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता बुधबार सम्पन्न गरिएको खेलकुद विभाग किरात साम्यो हक्चात यक्चुकका अध्यक्ष मनकुमार आङबुहाङले बताएको छ । यसपटकको पवित्रहाङ्म महिला कप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतले जितेको छ ।

धर्मगुरुआमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार