कपिलवस्त : कपिलवस्तुको शिवराज नगरपालिका वडा–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाबाट ३० जना घाइते भएका छन् । घाइतमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला र चार पुरुष छन् । उनीहरूको सनाखत हुन बाँकी छ । घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ ।
बसमा ४० यात्रु सवार सवार रहेको र चालक घाइते रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।