सरस्वती पुजाका अवसरमा जनकल्याण माविले गर्यो ४४ जनालाई सम्मान

  युद्धबहादुर बोहोरा
588 Shares

पाँचथरः सरस्वती पुजाका अवसरमा फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडाको जनकल्याण मावि कोल्बुङले ४४ जनालाई सम्मान गरेको छ । यस विद्यालयका संस्थापक स्व.सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा उनका परिवारले स्थापना गरेको ६ लाख १५ हजार रुपैंया अक्षय कोषको व्याजबाट विभिन्न विधाका शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको हो ।  सम्मानित हुनेमा गरीब तथा जेहेनदार २९ जना छात्रछात्रा, १ देखि १२ कक्षासम्म प्रथम हुने विद्यार्थी कक्षा २ वाहेक ११ जना,पुस्तकालय  संचालन र व्यावस्थापन तर्फका २ जना शिक्षक करिस्मा लिम्बु र अविचन्द्र चेम्जोङ रहेका छन् ।

यसैगरी, लिम्बु भाषा,संस्कार र संस्कृतिमा खोज अध्ययन अध्यापन गर्दै आएका घुर्बिसे माविका शिक्षक मोहनचन्द्र चेम्जोङ र यसै विद्यालयमा अध्ययनरत लिम्बु भाषा बोल्न र लेख्न सक्ने उत्कृष्ट विद्यार्थी खुशी चेम्जोङलाई नगदसहित सम्मान गरिएको विद्यालयका प्रधानध्यापक पूर्णकुमार सदेम्बाले जानकारी गराए । कार्यक्रमका अतिथि पालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम राई, वडाध्यक्ष विष्णुकुमार चेम्जोङ,शिक्षक अभिभावक संघ अध्यक्ष बलीराज चेम्जोङ,अक्षयकोषदाता परिवारबाट नन्द र विरेन्द्र चेम्जोङ साथै व्यवस्थापनसमिति अध्यक्ष हर्क बहादुर चेम्जोङले सम्मानित हुनेहरुलाई पुरस्कार प्रदान गरेको कार्यक्रम संचालक शिक्षक अम्बिका प्रसाद सापकोटाले बताए ।

२०२३ सालमा स्थापना भएको यस विद्यालयले विभिन्न विधाका विद्यार्थी र शिक्षकलाई अक्षय कोषको व्याजबाट सम्मान गर्दै आएको छ । हालसम्म स्व.सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्रा स्मृतीसहित,मन बहादुर स्मृती, हर्कबोली जसरानी र भूतपर्व विद्यार्थी समाज गरी  चार वटा अक्षय कोष स्थापना भइ जम्मा १४ लाख ९७ हजार ९९२ रुपैंया जम्मा रकम कोषमा खडा भइसकेको र थप हुने क्रम जारी रहेको जनाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खच्किन्दै गएको बेला यस विद्यालयले भने नर्सरी देखि ६ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको यस संस्थाले २०७८ सालमा फाल्गुनन्द गाउँपालिका स्तरीय उत्कृष्ट शैक्षिक उपलब्धी गर्न सफल नमूना विद्यालयको रुपमा प्रथम भई दुई लाख रुपैयाँ अनुदान प्राप्त गरिसकेको  छ । अतिथिले शुभकामना मन्तव्यमा अहिले जनकल्याण माविले पाएको स्थानीयबासीको सहयोगको प्रशंसा गरे । नागरिकस्तरबाट पनि शैक्षिक क्षेत्रको प्रगतिको लागि सहयोग गर्न कोसिस गरियो भने विद्यालयको शैक्षिक उन्नती सम्भव रहेको उनीहरुले बताए ।

हाल १२ कक्षासम्म २२७ जना विद्यार्थी र २२ जना शिक्षक स्टाफ छन् । बोर्डिंङ स्कुर सरह संचालन गरिएको यस विद्यालयमा तीन जना निजी श्रोतमा शिक्षक राखिएको छ भने शनिबार वाहेक सबै सार्वजानिक विदामा समेत पठनपाठन गरिन्दै आएको जनाइएको छ । ग्रामीण क्षेत्रका निम्न परिवारमा हुर्केका बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यम मार्फत पढ्न पाउने अवसर दिलाउने उदेश्यले भूतपूर्व विद्यार्थी समाज अक्षयकोष स्थापना भएको जनाइएको छ । २३ रोपनी जमीन रहेको यस विद्यालयको खेल मैदान,भौतिक संरचना  सन्तोषजनक रहेता पनि थप सुधार गर्दै घेराबारा र मेन गेटको आवश्यकता रहेको प्रअ सदेम्बाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार