इलाम : दुई माओवादी घटकले संयुक्त रुपमा इलाम चोक बजारमा २९ औं जनयुद्ध दिवस मनाएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् । दुई पार्टीले चोक बजारमा दीप प्रज्वलन र कोणसभा गरेको छ ।
कोणसभामा नेकपामा केन्द्रीय सल्लाहर होम सी र माओवादी केन्द्रका प्रदेश सदस्य प्रवास शर्माले सम्बोधन गरे । उनीहरुले परिवर्तनका लागि नेपाली जनताले युद्धको सुरुवात गरेको दिनलाई ऐतिहासिक जनयुद्धका रुपमा मनाईएको बताए । पछिल्लो समय प्रतिगामीहरु सलबलाउन खोजेको भन्दै उनीहरुले सबै परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने बेला भएको बताए ।
नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित २०५२ साल फागुन १ गते बन्दुक उठाएर रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालेको तत्कालिन नेकपा माओवादीले २०६३ मंसिर ५ गते तत्कालिन सरकारसँग विस्तृत शान्ति सम्झौता गर्दै हतियार बिसाएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । दुवै पक्षबाट हजारौंको संख्यामा नागरिक वेपत्ता पारिएका थिए ।
विस्तृत शान्ति सम्झौता पछि माओवादी घटकहरु विभिन्न चिरामा विभाजित भएका छन् ।