पाँचथरः जनयुद्ध दिवश फागुन १ गते मिक्लाजुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएका हुन् ।
गाउँपालिकाले जारी गरेको सूचनामा फागुन १ गते गाउँपालिका मातहत रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा विदा हुने उल्लेख छ । अध्यक्ष माखिम नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।
देशको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने सहिदको ठूलो योगदान रहेकाले ऐतिहासिक दिनको सम्मान गर्दै जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको अध्यक्ष माखिमले बताए।
विदाको दिन पालिका भित्रका सरकारी कार्यालय, संघसंस्था सबै बन्द रहनेछन् । गाउँपालिकाले आफ्नो आधिकारिक पत्र नै सार्वजनिक गरेको छ । सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’ का अवसरमा भनेर दिएको विदालाई असंवैधानिक ठहर गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त विदा किन असंवैधानिक हो भन्ने उल्लेख छ ।-केन्जो खबरबाट