स्वास्थ्य बिमासहितको उपचार सेवा चुलाचुली अस्पतालमा, अन्तरजिल्ला जानुपर्ने बाध्यता हट्यो (भिडियोसहित)

  राम योङहाङ
1.2k Shares

इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली आधारभूत अस्पतालमा उपचार गराउँदै बिरामी ।

इलाम : इलामको चुलाचुली गाउँपालिकाबासी जो कोही सामान्य बिरामी पर्नासाथ झापाको दमक र विर्तामोडका अस्पतालमा जानु पर्दथ्यो । गाउँका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र अन्य स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ्यकर्मीको अभावमा चुलाचुलीबासीहरु सामान्य समस्यामा समेत जिल्लाबाहिरका अस्पताल धाउनुपर्ने बाध्यतामा थिए ।

तर, अहिले चुलाचुलीबासीको त्यो बाध्यता हटेको छ । चुलाचुली गाउँपालिकाले चुलाचुली आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गर्न थालेका छन् । चुलाचुली गाउँपालिकाले प्रशासनिक भवनमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालमा अहिले दैनिकजसो सयको हाराहारीमा बिरामीहरुले सेवा लिने गरेको अस्पतालकी मेडिकल अधिकृत आस्था अधिकारीले बताइन् । सो अस्पतालमा अधिकारीको नेतृत्वमा नर्सिङ, हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्टलगायतले सेवा दिइहेका छन् ।

पछिल्लो समय अस्पतालमा नागरिकको विश्वास समेत बढ्दै गएको छ । सामान्य बिरामी हुँदा समेत झापाको दमकका विभिन्न अस्पताल पुग्नुपर्ने बाध्यता ‍टरेको छ । निकै जटिल प्रकारका बाहेक सामान्य बिरामीले यहींबाट उपचार सेवा लिन पाईरहेका छन् ।

चुलाचुली गाउँपालिकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सोही अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालन गरेको छ । चुलाचुलीले जिल्लामै पहिलो पटक आफ्नै अस्पतालबाट स्वास्थ बिमाको ‘प्रथम बिन्दु’को सेवा सञ्चालन गरेको हो । गाउँकै अस्पतालबाट स्वास्थ्य बिमासहितको सेवा दिन पाउन थालेपछि चुलाचुलीबासी दङ्ग छन् ।

इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली आधारभूत अस्पतालमा उपचार गराउँदै बिरामीहरु ।

गाउँमै अस्पताल सञ्चालनमा आएपछि अर्को जिल्ला धाउनुपर्ने बाध्यता झेल्दै आएका चुलाचुलीबासी नागरिकलाई सहज भएको स्थानीय मन लिम्बू बताउँछन् । गाउँकै अस्पतालबाट सेवा लिन पाएपछि जिल्लाबाहिर जानुपर्ने समस्याट मुक्त भएको उनको भनाई छ । ‘गाउँपालिकाले अस्पताल सञ्चालनममा आएपछि धेरै नागरिकलाई सहज भएको छ । हज्जारौं खर्च गरेका टाढाका अस्पताल जानुपर्ने बाध्य थियो । अहिले नि:शुल्क रुपमा गाउँकै अस्पतालबाट सवा लिन पाइरहेका छौं’ उनकझ भनाई छ । उनले  स्वास्थ्य बिमासिहतको सेवा गाउँकै अस्पताल सञ्चालनमा पाउन थालेपछि गरिब नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेको बताए ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलबध गराउने र जटिल प्रकारका बिरामीलाई अन्य सुविधासम्मपन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भए त्यो सुविधा समेत उपलब्ध गराउने गरिएको बताए । ‘चुलाचुलीबासीहरुले समान्य बिरामी हुँदा समेत रेफर लिनका लागि झापाको दमक अस्पतालको भिडले समेत हैरानी ब्यहोर्नु परिरहेको थियो’, अध्यक्ष केरुङले भने, ‘चुलाचुलीबासी नागरिकको सहजताका लागि गाउँमै सुविधा दिन पालिकाले आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो ।’

चुलाचुलीबासी नागरिकलाई आफ्नै गाउँको अस्पतालबाट स्वास्थ्य बिमाको समेत सेवा लिन पाएपछि झापाको विभिन्न अस्पतालसम्म जानुपर्ने र घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता समेत हटेको छ ।

इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली आधारभूत अस्पतालमा बिरामीको स्वास्थ्य अवस्था बुझ्दै अध्यक्ष राजेन्द्र केरुङ।

सो अस्पतालमा साताको एक दिन बहिरङ्ग (ओपिडी) विशेषज्ञ सेवा समेत सञ्चालनको तयारीमा छ । झापाको दमकस्थित लाइफलाइन अस्पताल प्रालिले चुलाचुली आधारभूत अस्पतालको आवश्यकता अनुसार साताको प्रत्येक सोमबार विशेषज्ञ सेवा नि:शुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

‘हामी फागुन पहिलो सातादेखि प्रत्येक सोमबार यहीको अस्पतालबाट बहिरङ्ग (ओपिडी) विशेषज्ञ सेवा समेत सञ्चालन गर्छौं, त्यसका लागि लाइफलाइन अस्पतालसँग सम्झौता भइसकेको छ’ अध्यक्ष केरुङले भने, ‘हामी यहाँका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिन लागिपरेका छौं ।’ चुलाचुली गाउँपालिकाबासीको आवश्यकता र मागको आधारमा साताको सोमबार विशेषज्ञ चिकित्सकले सेवा दिने अध्यक्ष केरुङले बताए ।

चुलाचुली गाउँपालिकामा हाल १५ शय्याको अस्पताको सुविधासम्पन्न भवन निर्माणाधीन छ । चुलाचुली-२ मा निर्माणाधीन अस्पतालको भवन निर्माण सम्पन्न भएपछि अस्पतालसहित स्वास्थ्य बिमा कार्यक्रम समेत सोही अस्पतालमा स्थानान्तरण गरिने अध्यक्ष केरुङले बताउनुभयो ।

६ वटा वडा रहेको चुलाचुली गाउँपालिकामा जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार २३ हजार एक सय ५७ रहेको छ ।

भिडियो यहाँ छ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार