काठमाडौं : नेपला पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले आज तय गरेको ‘अग्र अनुहार’ पुस्तकको लोकार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा सहभागी नहुने भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘अग्र अनुहार’ पुस्तकको विरोध गरेपछि घिमिरे र शर्मा कार्यक्रममा सहभागी नहुने उच्च स्रोतले जनाएको छ ।
प्रतिष्ठान प्रदेश समिति काठमाडौंले महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको जीवनी र भूमिकालाई समावेश नगरी ‘अग्र अनुहार’ पुस्तक लोकार्पण गर्न लागेपछि फोनिजले शनिबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।
सो पुस्तकले नेपालका पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठको इतिहास र भूमिकालाई नामेट पार्न खोजेको फोनिजको दावी छ । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासंघको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने भन्दै फोनिजले सो पुस्तक प्रकाशन तत्काल रोक्न माग गरेको छ ।
‘इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा र नेतृत्व संस्था हुन सक्दैन’ फोनिजका महासचिव मिलन लिम्बूले भने, ‘फोनिजले सो विषयमा नेपाल पत्रकार महासंघलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि महासंघले स्थापना दिन र संस्थापक सम्बन्धी तथ्यलाई नजरअन्दाज गर्दै आएको छ । गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्ने लगायतका गतिविधि अगाडि बढाएकोमा हाम्रो आपत्ति छ ।’
फोनिजले संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाइ गलत इतिहास सच्याउन र सोही गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा महासंघ विरुद्ध देशव्यापी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
फोनिजले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याउन चेतावनी दिएको छ । गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासङ्घको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जाने वाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
यता नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले महासंघ केन्द्रीय समितिको कार्यक्रम नभएकाले महासंघको आधिकारिक कार्यक्रम नभएको बताए । उनले महासंघको साधारणसभा, महाधिवेशनबाट पारित भएका विषय मात्र आधिकारिक डकुमेन्ट हुने बताए ।