सूर्योदय नगरपालिकाको छोरी-बुहारीलाई निःशुल्क शिक्षा प्रभावकारी बन्दै

  नयाँ बुलन्द
70 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकाले ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका छोरी र बुहारीलाई छात्रवृत्तिमा पढ्न सहयोग गरिरहेको छ ।

परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा समस्या हुनेलाई यो कार्यक्रमले सहयोग पुर्याएको स्थानीयले बताएका छन् । नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाएर रोजगारीका लागि सहयोग गर्दै आएको छ ।

पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय भएको सूर्योदय–१ धजेकी सुजता बजगाईँले बताइन् । उनले पालिकाको कार्यक्रम अन्तर्गत शतप्रतिशत छात्रवृत्तिमा स्नातक तह उत्तीर्ण गरेकी छन् ।

सूर्योदयले यो कार्यक्रम अन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष भएको छ  ।

नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म एक सय ५३ छोरी–बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिए ।

यस वर्ष छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको सङ्ख्या एक सय ९३ पुगेको छ । यो वर्ष छात्रवृत्ति कार्यक्रमका लागि क्याम्पससँग ४० विद्यार्थीका लागि सम्झौता गरिएको सूर्योदय नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार