पवित्रहाङ्मा कप : सावना राईको गोलमा माङसेबुङ सेमिफाइनलमा

  राम योङहाङ
308 Shares

इलाम : इलामको धार्मिक क्षेत्र माङसेबुङमा १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगिता आज (बुधबार) सुरु भएको छ ।

उद्घाटन खेलमा नवदीप युवाक्लब मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको १० औं मिनेटमा माङसेबुङकी सावना राईले गरेको गोलको मद्दतमा माङसेबुङ सेमिफाइनल प्रवेश गरेको हो ।

घरेलु दर्शकको समर्थन पाएको माङसेबुङका लागि सुरुआती अग्रता नै जितका लागि सहज बन्यो । खेलको उत्तरार्धमा लयमा फर्कने कोसिस गरेको मोरङले पाएको थुप्रै अवसर गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य बन्यो ।

खेलको उत्कृष्ट खेलाडी विजेता माङसेबुङकी सावना राई घोषित भइन् ।

प्रतियोगिता अन्तरगत भोलि (बिहीबार) कन्काई नगरपालिका झापा र विवाईसी भुटानबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्थुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगितामा प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा छ ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगिताको फाइनल २ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार