काठमाडौं : अढाई दशकसम्म इलाम–२ को अवच्छिन्न जनप्रतिनिधि भएका संविधानसभा अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि त्यहाँ उपचुनाव हुँदै छ । तर, उपचुनावको मिति भने टुङ्गो छैन । तर, आगामी वैशाखमा चुनाव गराउने निर्वाचन आयोगको तयारी छ ।
निर्वाचन आयोगका अनुसार उपचुनावको मिति सरकारलाई सिफारिस गर्नेबारे तयारी भइरहेको छ । तर, इलाममा चुनावी सरगर्मी भने बढिसकेको छ । आकाङ्क्षीहरू धमाधम देखिन थालेका छन् । नेकपा एमालेबाट नेम्वाङका छोरा सुहाङ बलिया दाबेदार हुन् । उनले भनिसकेका छन्, ‘अवसर आयो भने खुट्टा कमाउँदिनँ ।’
अध्यक्ष केपी शर्मा ओली पनि सुहाङलाई टिकट दिन सकारात्मक छन् । फेरि, एमालेमा कुनै नेताको निधन भए परिवारका कोही कसैलाई अवसर दिने थिति नै बसेको छ । यसले गर्दा पनि उपचुनावमा सुहाङ उम्मेदवार बन्ने सम्भावना धेरै छ । उनी अधिवक्ता हुन् । उनका बुबा सुवास त वरिष्ठ अधिवक्ता नै थिए । बाजे पनि जिल्ला न्यायाधीश थिए । कानुनी पारिवारिक पृष्ठभूमिका सुहाङ बुबा सुवासजसरी यसपटक राजनीतिमा आउन चाहिरहेका छन् । राजनीतिक उचाइ लिने उपयुक्त अवसर यही हो भन्ने सुहाङलाई लागेको हुन पनि सक्छ ।
इलाममा भएको बुबा सुवासको श्रद्धाञ्जलीसभामा पुगेर उनले भनेका थिए, ‘बुबाका अधुरा सपना धेरै छन् । ती सपना पूरा गर्नका लागि म लागिपर्नेछु ।’ यो अभिव्यक्तिले पनि उनी राजनीतिमा आउन चाहेको त्यतिबेलै चर्चा भएको थियो । हालैका दिनमा सुहाङले चुनाव लड्ने आन्तरिक तयारी थालेका छन् ।
तर, एमालेकै एक थरी नेताहरू सुहाङलाई टिकट दिन हुँदैन भनेर कस्सिएर लागेका छन् । सुवासका कारण अढाई दशकसम्म अवसर नपाएको र यदि सुहाङले टिकट पाएर चुनाव जिते भने थप तीन दशक अवसर नपाउने चिन्ता उनीहरूमा छ । सुहाङको राजनीतिक तथा सामाजिक योगदान पनि चुनाव क्षेत्रमा नभएकाले उनलाई टिकट दिन नहुने उनीहरूको मत छ ।
उक्त चुनाव क्षेत्रमा सुहाङबाहेक एमालेबाट उम्मेदवार हुन आकाङ्क्षा राख्नेहरू जिल्ला समन्वय समितिका पूर्वप्रमुख गणेश बराल, पार्टी उपाध्यक्ष नेता उदय राई, युवानेता रवीन्द्र सुवेदीलगायत छन् ।
नेपाली कांग्रेसका इलाम सभापति डम्बर खड्का बलिया दाबेदार हुन् । यसअघि उनी सुवाससँग झिनो मतान्तरले पराजित भएका थिए । कांग्रेसबाट नेताहरू केशव थापा र भेषराज आचार्य पनि आकाङ्क्षी छन् ।
पत्रकार मिलन लिम्बू पनि चुनावी मैदानमा उत्रिने तयारीमा छन् । उनी त्यही क्षेत्रका स्थानीय हुन् । एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजनहुँदै हाल दृष्टि साप्ताहिकका सम्पादकसमेत रहेका लिम्बू रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने तयारीमा रहेको चर्चा छ । उनले यसबारे खुलस्त पारेका छैनन् । उनी हाल सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट छन् ।
‘चुनाव लड्ने हो । चुनावी तयारीमा लागी नै सकेँ । हेरौँ, के हुन्छ ? टिकटबारे निर्वाचन मिति घोषणापछि थाहा होला तर म चुनाव लडेर इलाम–२ बाट प्रतिनिधिसभामा आउनेछु,’ उनले भने ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमाले फर्किएर उम्मेदवार हुने गाइँगुइँ चर्चा छ । हुन पनि उनी एमालेसँग पार्टीलाई एकता प्रक्रियामा लानुपर्छ भन्ने नेता हुन् । उनीनिकट एक नेताका अनुसार खनाल एमालेमा जाँदैनन् र उम्मेदवार पनि हुँदैनन् ।
पहिचानवादीहरूले पनि त्यहाँ युवानेतालाई उम्मेदवार बनाउन खोजिरहेका छन् । तर, हालसम्म टुंगो लागेको छैन ।
लगातार २०५६ सालयता सुवास त्यस क्षेत्रबाट सांसद भइरहे । उनी त्यसअघि राष्ट्रियसभा सदस्य थिए । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन राज्यमन्त्री भए । दुईपटक संविधानसभा अध्यक्ष र एकपटक पुनःस्थापित प्रतिनिधिसभाका सभामुख भए । उनै नेम्वाङको गत २६ भदौमा निधन भयो । यसपछि इलाम– २ जनप्रतिनिधिविहीन छ ।
संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि भएमा उपचुनाव गरेर रिक्तता पूर्ति गराउने प्रावधान छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ६८ मा उपचुनावको व्यवस्था छ ।
त्यहाँ भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।’ अहिले त प्रतिनिधिसभाको कार्यकाल चार वर्ष १० महिना बाँकी छ । त्यस कारण इलाम–२ मा हुने उपचुनावको मिति नतोकिए पनि आकाङ्क्षीहरू फटाफट मैदानमा देखिन थोका छन् ।
-शिलापत्र